aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी नेपालमा भित्र्याउनका लागि नीतिमा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आज मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गरेर विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहजीकरण गर्न लागेको हो । विदेशी लगानी भित्र्याउने कम्पनी तथा उद्योगीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले प्रक्रियागत झन्झटलाई विनियमावलीमार्फत सहजीकरण गरिदिएको हो । 

हाल कुनै पनि कम्पनी वा उद्योगले विदेशी लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण लिनु पर्दा उद्योग विभाग र राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था छ । यसको प्रक्रियागत सहजीकरण गर्ने तयारी राष्ट्र बैंकले गरेको हो । अब विदेशी लगानी नेपाल भित्र्याउँदा राष्ट्र बैंकमा जानकारीमात्र गराए पुग्ने व्यवस्था गरिएको हो । 

अब वैदेशिक ऋण नेपाल ल्याउदा राष्ट्र बैंकसँग स्वीकृत लिनु पर्दै, उद्योग विभागबाट स्वीकृत लिएपछि उद्योग तथा कम्पनीहरुले सोझै वैदेशिक ऋण नेपाल भित्र्याउन सक्नेछन् । यसरी भित्र्याइएको वैदेशिक ऋणको लेखांकन भने ३५ दिनभित्र सम्बन्धित कम्पनी तथा उद्योगले राष्ट्र बैंकमा गराउनु पर्नेछ । आफ्नो आवश्यकता अनुसार कम्पनीहरूले यस्तो ऋण भित्र्याउन सक्नेछन् । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ जारी गर्नुअघि सरोकारवालासँग रायसुझाव माग गरेको हो ।  

राष्ट्र बैंकले आफ्नो स्वीकृति बिना नै वैदेिशक ऋण नेपाल भित्र्याउन शर्तहरू तोकेको छ । सो शर्तअनुसार ऋण लिने कम्पनी, उद्योग र ऋण दिने विदेशी लगानीकर्ताबीच सम्झौता भएको हुनपर्नेछ । यसरी प्राप्त हुने ऋण बैंकिङ प्रणाली प्राप्त हुने प्रतिबद्धता र विदेशबाटै ऋण लिनुपर्ने आवश्यताको पुष्टी गरिएको हुनुपर्नेछ । नेपालको बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र ब्याजदरमा ऋण लिन नसक्ने अवस्थाको समेत पुष्टी गरिएको हुनु पर्नेछ ।
वैदेशिक ऋण नेपाल भित्र्याउने उद्योग तथा कम्पनीले दर्ता प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, कालोसूचीमा नपरेको वा नरहेको प्रमाणपत्र, ऋण चुक्ता गर्ने आधारलगायत कागजात उद्योग विभागमा बुझानु पर्नेछ । यी कागजात बुझाएपछि राष्ट्र बैंकको स्वीकृति बिना नै वैदेशिक ऋण भित्र्याउन पाइनेछ । 
 

प्रतिक्रिया दिनुहोस