aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु

तेहरान । कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि शुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो । 

“हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्यौँ, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउने छौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउने छौँ,” राष्ट्रपति हसन रौहानीले भने । कोरोना भाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो ।

“रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने । मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्य मन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएका छन् । एएफपी 

प्रतिक्रिया दिनुहोस