aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कच्चा पदार्थ नेपालमै बनाउन लागिपर्दै उद्योगी

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, २९ माघ २०७७

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका हुन् ।

पछिल्लो समय नेपालका सिमेन्ट उद्योगहरूले क्लिंकर आफै उत्पादन गर्न थालेपछि भारतबाट आयात गरिँदै आएको क्लिंकरको आयात न्यून भएको छ । नेपालका ६३ ओटा सिमेन्ट उद्योगमध्ये २१ ओटा सिमेन्ट उद्योगको आफ्नै खानी छ । यसबाट चुनढुंगा निकालेर फलामको धाउ मिसाएर क्लिंकर बनाउँदै आएका छन् । नेपालमा उत्पादित क्लिंकरले १ वर्षपछि यहाँँको आवश्यकता धान्न सक्ने अर्घाखाँची सिमेन्टका सञ्चालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका बताउँछन् । उनी भन्छन्, ‘१ वर्षभित्रमा भारतबाट क्लिंकर मगाउन पर्दैन, नेपालकै उत्पादनले पुग्छ ।’

उनका अनुसर नेपालमा आवश्यकभन्दा बढी क्लिंकर उत्पादन भइरहेको छ । भारतलाई क्लिंकर र सिमेन्ट विक्री गर्न सक्नेगरी नेपालमै उत्पादन भइरहेको उनले बताए । सरकारले भारतलगायत दक्षिण एशियाका अन्य मुलुकमा सिमेन्ट निर्यात गर्न व्यवस्था मिलाउनुपर्ने मुरारकाले बताए ।

उनले नेपाली उत्पादन निर्यात गर्न भारतबाट आउने सिमेन्ट र क्लिंकरमा थप कर लगाउन माग गरे । उनका अनुसार नेपालका सिमेन्ट उद्योगहरूले खपतको डेढ गुणा बढी सिमेन्ट उत्पादन गरिरहेका छन् । प्रदेश १ को झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १ र उदयपुरमा सरकारी स्वामित्वको एक सिमेन्ट उद्योग गरी १४ सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

आरती स्ट्रिप्सले पछिल्लो समय थपेको प्लान्टमा एचआर सीटबाट सीआर सीट निर्माण गरेर त्यसबाट आफूले चाहेअनुसारको कर्कटपाता उत्पादन गर्दै छ । पहिले भारतबाट नै सीआर सीट मगाउँदा उपयुक्त साइज भनेर मगाउनुपर्ने अवस्था थियो । तर, अहिले आफैले उत्पादन गर्न थालेपछि त्यो झन्झट हट्ने आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवस नेपाल बताउँछन् । उनका अनुसार ४ अर्बको लगानीमा फागुनभित्र सञ्चालनमा आउने सीआर सीट प्लान्ट र ग्यालभोलुम कर्कटपाताको प्लान्ट ४ अर्बको लगानीमा थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस