aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बीमालेख धितो कर्जा स्किमको विरोधमा बीमा कम्पनीहरू

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, ०२ फागुन २०७७
बीमालेख धितो कर्जा स्किमको विरोधमा बीमा कम्पनीहरू

काठमाडौं । बैंकहरूले जीवन बीमाको पोलिसी धितो राखेर कर्जा दिन शुरू गरेपछि बीमा समितिले त्यसलाई रोक्ने नीति ल्याउन लागेको छ । बीमा समितिले नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा यस्तो नीति ल्याउन लागेको हो ।

बीमा समितिसँग बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गर्ने अधिकार छैन । राष्ट्र बैंकसँगको सहकार्यमा बीमालेख धितोमा बैंकबाट भइरहेको कर्जा प्रवाहलाई रोक्न लागिएको हो ।

बैंकहरूले बीमालेख धितो राखेर कर्जा प्रवाह गर्न लागेपछि बीमा समितिले यस्तो नीति ल्याउन लागेको हो । विशेषगरी ज्योति विकास बैंकले केही दिनअघि जीवन बीमाको पोलिसी धितो राखेर कर्जा दिने गरी प्रडक्ट नै सार्वजनिक गरेको छ ।

उक्त बैंकले बीमा पोलिसीको सरेन्डर भ्यालुको ९० प्रतिशतसम्म दिने गरी उक्त प्रडक्ट ल्याएको थियो । यसरी बैंकहरूले खुला रूपमै नै बीमालेख धितो राखेर कर्जा दिन थालेपछि बीमा समितिले त्यसलाई नियन्त्रण गर्न लागेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बैंकहरूले बीमालेख धितो राखेर कर्जा प्रवाह गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने तयारी गरिएको बताए । ‘बैंकहरूलाई निमयन गर्ने अधिकारी हामीसँग छैन । त्यसका लागि राष्ट्र बैंकसँग आवश्यक सहकार्य गर्दै छौं,’ उनले भने, ‘यसका अलावा जीवन बीमा कम्पनीहरूका लागि पनि छुट्टै निर्देशन जारी हुन सक्छ ।’

हाल जीवन बीमा कम्पनीहरूले नै बीमालेख धितो राखेर आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्दै आएका छन् । बीमालेख धितो राखेर कर्जा प्रवाह गर्ने अधिकार बैंक तथा वित्तीय संस्थाहरूलाई नभएको बीमा समितिको दाबी छ । त्यसैले यस्ता गतिविधिलाई नियमन गर्न लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अबको केही दिनमा निर्देशन जारी हुने उनको भनाइ छ ।

बीमा पोलिसी किनेको २ वर्षपछि मात्र बीमितले बीमा गरेकै कम्पनीबाट मात्र कर्जा लिन पाउने व्यवस्था छ ।

तर, बैंकहरूले बीमालेख किनेको भोलिपल्टै कर्जा दिन सकिने गरी प्रडक्ट ल्याएका छन् । बैंकहरूले नियामक निकायको निर्देशनको पालनासमेत नगरेको बीमाक्षेत्रका अधिकारीहरू बताउँछन् ।

ज्योति विकास बैंकले पोलिसी किनेको भोलिपल्टै आवधिक र अधिविकर्ष ‘ओडी’ दुवै प्रकृतिका कर्जा प्रवाह गर्न सकिने गरी प्रडक्ट ल्याएको थियो । बैंकले त्यस्तो कर्जामा आधार दरमा २ प्रतिशत बिन्दु प्रिमियम थप गरेर कर्जा दिने बताएको थियो । तर, अब भने बीमा समितिले त्यसलाई रोक लगाउने भएको छ ।

त्यस्तै, बीमितका लागि बैंकबाट कर्जा लिनु फाइदाजनक नहुने समितिको तर्क छ । बैंकबाट कर्जा लिएको अवस्थामा दाबी भुक्तानी लिँदा झमेला हुन सक्ने समितिको भनाइ छ ।

बीमालेख धितो राखेर कर्जा दिने बैंकहरूको प्रडक्टको बीमा कम्पनीहरूले पनि विरोध जनाएका छन् । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनोजकुमार भट्टराईले बीमालेख धितोमा बैंकबाट हुने कर्जा प्रवाहलाई निरुत्साहित गर्नुपर्ने बताए । विशेषगरी यसलाई निरुत्साहित गर्न जीवन बीमा कम्पनीहरू नै अग्रसर हुनुपर्ने उनको सुझाव छ ।

‘बीमालेख धितोमा बैंकबाट कर्जा प्रवाह गर्नु बीमाको सिद्धान्तविपरीत हो । तसर्थ, यसलाई यथाशीघ्र नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि जीवन बीमा कम्पनीहरू आफैले ग्राहकलाई यस्तो कर्जा दिँदै आएका छन् । त्यो अवस्थामा बैंकबाट यस्तो कर्जा दिनु त्यति अर्थपूर्ण पनि छैन ।’ बैंकहरूले बीमालेख धितो राखेर कर्जा दिन शुरू गरेपछि बीमा कम्पनीहरूको लगानीको दायरा पनि खुम्चिने देखिन्छ । बीमा कम्पनीको कुल लगानीमा बीमालेख धितो कर्जाको अंश करीब १५ प्रतिशत छ । साथै, यस्तो कर्जाबाट बीमा कम्पनीहरूको ब्याज आम्दानी पनि राम्रो हुने गर्छ । यस अवस्थामा अब बैंकहरूले नै बीमालेख धितो राखेर कर्जा दिने भएपछि कम्पनीहरूलाई थप मर्का पर्ने भट्टराई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस