aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अरुण ३ को काम अवरुद्ध

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, ०२ फागुन २०७७
अरुण ३ को काम अवरुद्ध

संखुवासभा । अरुण–३ जलविद्युत् आयोजनाको टिपरको ठक्करबाट शुक्रबार मृत्यु भएका व्यक्तिको शव दोस्रो दिन पनि आफन्तले बुझेका छैनन् । उचित क्षतिपूर्ति दिने सहमति नभएको भन्दै स्थानीयले सडकमै शव राखी आयोजनाको काम अवरुद्ध गरेका छन्।

मकालु–३, हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन्। शुक्रबार बिहानै दुर्घटना भएकोमा शनिबार साँझसम्म पनि आफन्त र आयोजनाबीच सहमति हुन सकेको छैन। पीडितका आफन्तले घाइतेको उपचार गरी बालबच्चा पढाइदिन माग गरेका छन्। आफन्त वीरबहादुर राईले ५ करोड क्षतिपूर्ति मागेको बताएका छन्। भने, ‘मागअनुसार क्षतिपूर्ति नदिएसम्म हामी शव उठाउँदैनौं।’  

वार्तामा अरुण–३ को निर्माण कम्पनी एसजेभीएन, मकालु गाउँपालिका प्रमुख तेजबहादुर पोख्रेल, उपप्रमुख चमेली राई, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज मल्ल, दलका प्रतिनिधि छन्। पीडितको मागप्रति ध्यान नदिएको भन्दै शुक्रबार स्थानीयले आयोजनाको भारतीय नम्बर प्लेटको टिपर र जिपमा आगजनी गरेका थिए।

त्यसैगरी बाँध निर्माण स्थल र सुरुङ निर्माण गरिरहेको भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसिएटको स्थानीय कार्यालयमा तोडफोड र आगजनीसमेत गरे। भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को। २३ प ४८१५ नम्बरको मोटरसाइकललाई दिएको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस