
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन भएरै छाड्ने बताएका छन् । सरकारको ३ वर्ष पूरा भएको अवसरमा यो अवधिमा सरकारले गरेका कामको बारेमा प्रेस ब्रिफिङ गर्दै प्रधानान्त्री ओलीले जनतालाई आफ्नो मन पर्ने दललाई रोज्न फेरि एकपटक अवसर दिएको बताए ।
‘म जोड दिएर भन्छु चुनाव हुन्छ । बैशाख १७ र २७ गते चुनाव हुन्छ,’ ओलीले भने, ‘पहिलो चरणमा ४० जिल्लामा र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव हुन्छ ।’ उनले यो चुनावले अस्थिरताको खेती गर्नेको सपना चकनाचुर पारेको समेत दाबी गरे ।
सरकारले आगामी बैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बैशाख २७ गते प्रदेश १, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा निर्वाचन हुने घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा भने यतिबेला अदालतमा विचाराधिन छ ।
उनले यो अवधिमा सोचेजति काम नभए पनि सरकारको कामप्रति निराश हुने अवस्था नरहेको उल्लेख गरे । करिब सवा २ घण्टा लामो प्रेस ब्रिफिङ गरेका उनले आफूले उल्लेख गरेका विषय सारांश मात्रै भएको भन्दै योभन्दा धेरै काम भएको दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस