
काठमाडौं । आन्तरिक आर्थिक गतिविधि विस्तार हुँदै जाँदा राजश्व संकलन दरमा व्यापक सुधार भएको छ । कोभिड–१९ महामारीका कारण अस्तव्यस्त बनेको अर्थतन्त्र सुधारतर्फ अघि बढेसँगै राजश्व प्रशासन पनि सहज अवस्थामा पुगेको हो ।
आन्तरिक राजश्व विभागले माघ महिनामा मात्रै लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व संकलन गरेको छ । माघ महिनामा आन्तरिक राजश्व विभागलाई २८ अर्ब ६ करोड रुपैयाँ बराबरको राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर, महिनाको अन्त्यसम्म आइपुग्दा कुल ३२ अर्ब ४३ करोड बराबर राजश्व संकलन गरेको जनाएको छ । यो लक्ष्यको तुलनामा १५.५७ प्रतिशत बढी रहेको विभागका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए ।
कुन शीर्षकमा कति उठ्यो राजश्व ?
अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागलाई माघ महिनामा आयकरबाट ८ अर्ब ३८ करोड, घरबहाल कर २६ करोड, ब्याज कर ४ अर्ब ६७ करोड, आन्तरिक मूल्य अभिवृद्धि कर ७ अर्ब ८८ करोड, आन्तरिक अन्तशुल्क ६ अर्ब ४५ करोड। स्वास्थ्य सेवा कर २७ करोड र शिक्षा सेवा कर १३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य दिएको थियो ।
तर माघ महिनाको अन्त्यसम्म आइपुग्दा आयकरतर्फ ११ अर्ब ६७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो लक्ष्यभन्दा ३९.२२ प्रतिशत बढी हो ।
त्यस्तै, आन्तरिक मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यभन्दा ३०.३९ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा लक्ष्यभन्दा ५.८० प्रतिशत राजश्व संकलन भई कुल राजश्व संकलन २८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
घरबहाल कर, ब्याजकर, आन्तरिक अन्तशुल्क र शिक्षा सेवा शुल्कमा भने माघ महिनामा पनि लक्ष्य पूरा हुन सकेको छैन । माघ महिनामा घरबहाल कर १९ करोड २ लाख रुपैयाँ मात्रै संकलन भएको छ । यो लक्ष्यभन्दा २७.६६ प्रतिशत कम हो ।
ब्याज करतर्फको यो अवधिमा ४ अर्ब १५ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । यो लक्ष्यभन्दा ११.२२ प्रतिशत कम हो । त्यस्तै, आन्तरिक आयकरको ठूलो हिस्सा ओगट्ने आन्तरिक अन्तशुल्कबापत यो महिनामा ५ अर्ब ८१ करोड संकलन भएको छ । यो लक्ष्यभन्दा ९.९८ प्रतिशत कम हो ।
शिक्षा सेवा कर भने लक्ष्यको एक तिहाई मात्रै संकलन हुन सकेको छ । माघ महिनामा यस्तो करबापत ४ करोड ४० लाख रुपैयाँ मात्रै उठेको छ । यो लक्षित १३ करोड १९ लाखको रुपैयाँभन्दा ६६.६६ प्रतिशत कम हो ।
माघसम्मको लक्ष्य ९५ प्रतिशत पुग्यो
आन्तरिक राजश्व विभागले माघसम्म २ अर्ब ३३ अर्ब ५१ करोड रुपैयाँ बराबरको राजश्व उठाउने लक्ष्य लिएको थियो । यो राजश्व ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक रावश्व कार्यालय र यसअन्तर्गतका करदाता सेवा कार्यालय समेतबाट संकलन गर्ने लक्ष्य लिइएको राजश्व हो । तर माघ महिनासम्म लक्ष्यको ९५.९० प्रतिशत राजश्व संकलन भएको छ ।
यो अवधिमा आय कर १ अर्ब २ अर्ब उठाउने लक्ष्य रहकोमा ९४ अर्ब ७७ करोड रुपैयाँ मात्रै उठेको छ । यो लक्ष्यको ९२.८४ प्रतिशत हो । त्यस्तै, घरबहाल करतर्फ २ अर्ब २८ करोडको लक्ष्यमध्ये १ अर्ब ५९ करोड मात्रै संकलन हुन सकेको छ । यो ६९.६८ प्रतिशत हो ।
ब्याज करतर्फ भने माघ महिनासम्म ९८.८० प्रतिशत राजश्व उठेको छ । यो अवधिमा ब्याज करबापत १६ अर्ब २१ करोड उठाउने लक्ष्य लिइएकोमा १६ अर्ब १ करोड रुपैयाँ मात्रै राजश्व संकलन हुन सकेको हो ।
आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि करतर्फ भने हालसम्म लक्ष्य भन्दा पनि धेरै राजश्व संकलन भइसकेको छ । यो शीर्षक अन्तर्गत माघ महिनासम्म ५९ अर्ब २७ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य रहेकोमा ६५ अर्ब १० करोड रुपैयाँ संकलन भएको हो ।
आन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्कमा भने लक्ष्यको ८५.५० प्रतिशत मात्रै राजश्व उठेको छ । मन्त्रालयले यो अवधिमा ५० अर्ब ९६ करोड रुपैयाँ अन्तशुल्क कर उठाउन विभागलाई लक्ष्य दिएकोमा अहिलेसम्म ४३ अर्ब ५७ करोड मात्रै उठेको हो ।
महामारीको अवधिमा स्वास्थ्य सेवा शुल्कमा भने व्यापक सुधार आएको छ । यो शीर्षक अन्तर्गत लक्ष्य भन्दा ४४.९१ प्रतिशत बढी कर संकलन भएको हो । यो शीर्षक अन्तर्गत माघ मसान्तसम्म १ अर्ब ८४ करोड उठाउने लक्ष्य लिएकोमा २ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ ।
लक्ष्यको सबैभन्दा कम कर चाहिँ शिक्षा सेवा शुल्कबाट आएको छ । यो करबापत ८५ करोड ८१ लाख रुपैयाँ संकलनको लक्ष्य रहेकोमा २० करोड ६९ लाख रुपैयाँ मात्रै रावश्व संकलन भएको छ । लक्ष्यको यो २४.११ प्रतिशत हो ।
पुरानो खाडल पुर्ने नयाँ चुनौती
कोभिड महामारीसँगै आन्तरिक उत्पादनमा आएको ह्रासका कारण चालु आर्थिक वर्षको सुरुमा राजश्व् संकलन कम भएको हो । अहिले अवस्था सहज बनेसँगै अर्थ मन्त्रालयले विभागलाई विगतमा पूरा नभएको लक्ष्यलाई पूरा गर्नेगरी कर संकलन गर्ने नयाँ लक्ष्य दिएको छ ।
बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले लक्ष्यभन्दा धेरै राजश्व उठाएर विगतमा उठ्न नसकेको राजश्वको खाडललाई पुर्ने बताएका थिए । अहिले विभाग सोही लक्ष्य हासिल गर्नेगरी अघि बढिरहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस