_20210216183857.jpg)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् ।
‘आँफैले प्राप्त गरेको दुई तिहाईको मतको व्यवस्थापन गर्न नसक्ने, अनि आफू अध्यक्ष भएर पनि आफ्नो दलपनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री, हुँदाहुँदा अब उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो । र, हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ । यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ । प्रधानमन्त्रीलाई कतैपनि संविधानमा त्यो अधिकार दिईएको छैन् । पूर्व प्रधानन्यायाधीशहरुले समेत प्रधानमन्त्रीले बलजफ्ती अधिकार प्रयोग गरेको भनेर विरोध गर्नुभएको छ । पूर्व सभामुखहरुले पनि विरोध गरेका छन् । कानूनका विज्ञहरुले विरोध गरेका छन् । नागरिक समाजलगायत सबैले विरोध गरेका छन् ।’
नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबीगरे । उनले भने,‘निर्वाचन गर्नको लागि यो स्टेप चालिएको होईन् । मिति नतोकिकन प्रतिनिधिसभा भंग गर्न पाईँदैन् । उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागु गर्नको लागि यो कदम चाल्नुभएको हो ।’
उनले चुनाव भयो भने कसले जित्छ वा कसले हार्छ ? भनेर अहिले हिसाबकिताब गर्न नहुने पनि सुनाए । उनले भने,‘कुन पार्टी वैधानिक हो ? कुन होईन ? त्यसको निक्र्यौल निर्वाचन आयोगले पछि गर्ला । तर, अहिले ओलीको कदमको विरुद्धमा संयुक्त आन्दोलनमा जाऔं । संसद विघटन गर्ने ओलीको यो कदम वैधानिक छैन् । हामीले दशकौं लामो समयदेखि लडेर ल्याएको र प्राप्त गरेको उपलब्धि, संविधान र प्रणालीलाई हाम्रो तर्फबाट संयुक्त आन्दोलनको लागि पहल गरौं । यसको लागि वार्ता गरौं । यो कदमले संकटकालतर्फ लैजान्छ । अब देशलाई संयुक्त आन्दोलनले निकास दिन्छ । अहिले चुनाव भयो भने जितिन्छ कि भन्ने बेला होईन् । यो कदमको विरोध गर्ने पक्षहरु एक ठाउँमा सडकमा आएर प्रतिवाद गरौं ।’
उनले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको सुनाए । यद्धपी प्रधानमन्त्री ओलीले धेरै राम्रा काम भएको भनेर फेहरिस्त सुनाउने गरेको उनको आरोप छ । उनले भने,‘तर, अहिले प्रधानमन्त्री एक्लैले सरकारले धेरै काम गरेको छ भनेर प्रशंसा गर्दै हुनुहुन्छ । आँफैले प्राप्त गरेको दुई तिहाईलाई किन विघटन गर्नुभयो ? हो, ८३ जनाले सांसदले विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिसमक्ष समावेदन गर्न गएको कुरा साँचो थियो । तर, कहीँ कतै अविश्वासको प्रस्ताव थिएन । ओलीको कदम बेठिक थियो । नियमित कामहरु भएका छन् । कतिपय काम हामीले सरकारलाई घेराबदी गरेर गरायौं । छाती ठोकेर यो सरकारले यो राम्रो काम गर्यो भनेर भन्न सक्ने स्थिति छैन् ।’
उनले आफूहरुले सरकारलाई निरन्तर सहयोग गरेको पनि सुनाए । उनले भने,‘हामीले निरन्तर सहयोग गरेका थियौं । तर, सरकार आँफैले एक्लै प्रशंसा गर्दै हिँडेको छ । अनुकुल स्थितिमा पनि प्रधानमन्त्रीले प्राप्त अवसर गुमाए । सरकारको काम कुनै प्रभावकारी छैन् । भ्रष्टाचार बढेको छ । तथ्य, तथ्यांक हेर्दा भ्रष्टाचार निकै मौलाएर गएको छ । अनियमितता मौलाएको छ। युवती बलात्कारपछि हत्या भएको छ, तर अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेन । सरकारको सफलता पटक्कै छैन् ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनेर आफ्नो पार्टीले पहिल्यै नै ठहर गरेको र अहिले आन्दोलित रहेको सुनाए । भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ रणनीति सार्वजनिक गर्ने सुनाए ।
ढुंगानाले विगतमा राजनीतिक अस्थिरता भयो भनेर आफूहरुले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउनेगरि संविधानमा व्यवस्था गरेको भएपनि प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै कडा आक्रोश पोखे । उनले भने,‘हिजो हामीले अब आन्दोलन गर्न नपरोस, लोकतन्त्र र प्रजातन्त्रको लागि भनेर हाम्रा नेताहरुले रत्कपार्कमा भाषण गरेर हिँड्नभएको थियो । हामीले पनि त्यही चाहेका थियौं । नेकपाको आन्तरिक झगडाको कारणले संसद भंग गर्न पाईँदैन् । देशलाई बन्धक बनाउन पाईँदैन् । अब अस्थिरता नहोस, संसद भंग नहोस भनेर संविधानमा कहीँ पनि संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन् । तर, प्रधानमन्त्री ओलीले भंग गरिदिए । काम गर्न दिएन भन्नुहुन्छ ? यो उहाँको कमजोरी हो नि । यो त राष्ट्र र जनताको कमजोरी होईन नि। मैले धेरै काम गरें भन्नुहुन्छ, अनि फेरि मलाई काम गर्न दिईएन भन्नुहुन्छ । यो दोधारे कुरा हो ।’
प्रधानमन्त्री ओलीले दुई तिहाई पुर्याउनको लागि उपेन्द्र यादवलाई मन्त्री बनाएको र संविधान संशोधन गरिदिन्छु भनेको र त्यो केही पनि नगरेको पनि उनले सुनाए । उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘अब कम्युनिष्टलाई हामी भएको भए यसो गर्दथ्यौं भन्न सुहाउँदैन् ।’
उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारमा जाने पनि चिनता व्यक्त गरे । उनले भने,‘देश अस्थिरता र अन्धकारमा जाने कुरा, त्यसको जिम्मेवारी कसले बोक्ने ? अहिलेको परिस्थिति जटिल परिस्थिति हो । कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ । हामीले पनि मूल्यांकन गरिरहेका छौं । को पदमा बस्ने ? को नबस्ने ? भनेर देशको सार्वभौमसत्तासम्पन्न संसद विघटन गर्न मिल्छ ?’
उनले विगतमा पनि आफूहरुले संयुक्त आन्दोलन गरेको स्मरण गर्दै भने–‘विगतमा त हामीले संयुक्त आन्दोलन गरेकै हो नि । हामीलाई विश्वासलागिरहेको छैन् । बाँदरको हातमा नरिवलजस्तो गर्नुहुन्छ । कांग्रेसले एक्लै परिवर्तनको एजेण्डा बोकेको छ । निर्वाचन आयोगले काम गर्नैपर्छ । न्यायका लागि कांग्रेसले कबुल गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि छ । हामीले ओलीको कदम असंवैधानिक कदम हो । सर्वसत्तावादी सोच भनेको हो । हामी आन्दोलनमा अहिलेपनि छौं । भोलि रणनीति बनाउँछौं । नेपाली जनताको अधिकारसम्पन्न सर्वोच्च संस्था संसद विघटन गलत हो । कुनैपनि तानाशाहले गर्न खोज्यो भने कांग्रेसले छाड्दैन् ।’
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने धारणा राखेका छन् । तर, त्यसको लागि अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने सुनाए ।
उनले भने,‘ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो, र, लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो । यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं । संविधानअनुसार यो अधिकार उहाँलाई छैन् । उहाँले चुनावको मिति घोषणा गर्नुभयो । चुनाव हुनेवाला पनि छैन् । चुनाव गराउनको लागि मिति तोकिएको होईन् । हुनेवाला छैन् । उहाँको उद्देश्य चाहीँ के छ भने यो सरकारलाई जसरीपनि लम्ब्याउने हो । शासक बनिरहने ।’
उनले अहिले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको टिप्पणी गरे । उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए । संसद विघटन हुनुको उनले तीन कारण सुनाए । पहिलो कारण, सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएको उनले सुनाए । उनले भने,‘सत्ताधारीभित्र पद, पैसाको लागि किचलो भयो । अर्को, स्वयम यो व्यवस्थाको कमजोरी पनि कारण हो । ओलीले फाईदा उठाएर यो गरे । कहीँ न कहीँ यो व्यवस्थाको कमजोरी हो । अर्को, विदेशी शक्तिको हस्तक्षेप हो ।’
उनले अहिलेको राजनीतकि समस्या÷संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्जनुपर्ने सुनाए । उनले भने,‘समाधानको उपायबारे अहिले बहस चलिरहेको छ, ओलीजीले नयाँ निर्वाचन भनेका छन् । अहिले आएर कांग्रेसका नेताहरुले भाषण गरेका छन्, चुनावको पक्षमा । सभापति देउवाले नै के भन्नुभयो भने उहाँले पूनःस्थापना गर्नुपर्छ भन्नुभएन । उहाँको जोड चाहीँ आयोगले किन निर्वाचन गर्दैन् ? किन नेकपाको विवाद हल गर्दैन्न् ? भन्ने देखियो । संसदीय दलहरु नै विभाजित देखिए । जसपापनि दुई धारमा देखियो । आँफैमा दलहरु विभाजित छन् । सबैको ध्यान सर्वोच्च अदालतले के फैसला गर्छ ? अब त्यो अदालतमा गैसकेको छ । हुन त बाहिर के चर्चा छ भने, ओलीजीले सेटिङ मिलाएर गरेकोले उनकै पक्षमा अदालतले फैसला गर्छ भन्ने छ । त्यसो गर्नु गलत हुन्छ । सायद, अदालतले मान्दैन होला ।’
उनले अघि भने,‘कुन फैसला भयो भने देश अघि बढ्छ त ? संसद पूनःस्थापना अथवा निर्वाचन भयो भने संकटको समाधान हुन्छ त ? तर, हाम्रो विचारमा दुवैले समाधान दिँदैन् ।’
सरकारको समिक्षा गर्दापनि नेकपा दाहाल–नेपाल पक्षका नेताहरुले तीन वर्षमा केही पनि काम नगरेको र झुटको पुलिन्दा मात्रै बाँडेको टिप्पणी गरेको सुनाए । उनले भने,‘तीन वर्षमा ओलीजीले झुटको पुलिन्दा गर्नुभयो । उहाँहरुले आँफै यो तीन वर्ष काम भएको थिएन भन्नुभएको छ। निर्वाचन नै हुँदैन पहिलो कुरा, भैहाल्यो भने । निर्वाचन पनि एउटा तामाशा मात्रै होला । सामधान दिँदैन् । २०६२÷०६३ मा जनसागर उर्लिएको थियो । अब यो स्थिति पैदा भएको छ, के ओलीको मात्रै असफलता हो ? यो त व्यवस्थापनि असफलता हो।’
उनले आफूहरुले अहिलेको व्यवस्थाको नै विकल्प खोज्नुपर्ने बताएको सुनाए । उनले भने,‘हाम्रो भनाई के छ भने व्यवस्थाको बारेमा पूर्नविचार गरौं । आन्दोलन अघि बढाऔं । संयुक्त आन्दोलन त्यताबाट गरौं । संसदीय पार्टी नेपाली कांग्रेस त संयुक्त आन्दोलनमा आउन सकेन्। हामीसँग त धेरै अन्तर छन् । बरु, अहिले सिभिल सोसाईटी अघि बढेको छ । अब तेस्रो आन्दोलन आवश्यकत्ता छ भनेर एक जना अभियन्ताले भन्नुभयो । अब अर्को आन्दोलनको आवश्यकत्रा पर्यो । राष्ट्रिय पार्टीहरु, नेताहरुले खुला दिलले सोच्नुपर्यो । त्यही व्यवस्था समातेर कहीँ पुगिँदैन् ।’
भारतको त्रिपुराका मुख्यमन्त्रीले भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि सरकार विस्तार गर्ने योजना रहेको भनेर रहस्योद्घान गरेको टिप्पणी गर्दै गजुरेले भने,‘अब कस्तो भयो ? हाम्रो देशमा बिजेपीले सरकार बनाउने अरे । विजेपीले अहिलेसम्म खण्डन पनि गरेको छैन् । विदेशी हस्तक्षेप कहाँ पुग्यो त ? हामीले विकल्प सोचनुपर्नै बेला भयो । हामीले त चार दलको रणनीति संयुक्त मोर्चा बनायौं । आधारभुत विषयमा सहमति भएको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टामा संघीय जनगणतन्त्र बनाउनुपर्छ । वैकल्पिक संयुक्त सरकार बनाऔं । बाह्य हस्तक्षेपविरुद्ध संघर्ष गर्नुपर्छ । राजनीतिक संकटको समाधान वैकल्पिक उपाय खोज्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस