aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

जापानले पनि शुरु गर्यो कोरोनाविरुद्धको खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
जापानले पनि शुरु गर्यो कोरोनाविरुद्धको खोप

टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । 

जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो । टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकीले जापानमा खोप लगाउने पहिलो व्यक्ति हुनु भएको छ । खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोनाभाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताए । 

उनले भनेका छन्, “खोप लगाउँदा त्यति दुखेको अनुभूति भएन । मलाई ठीकै लाग्यो ।” जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

स्थानीय संचारमाध्यमका अनुसार खोप लगाइएका व्यक्तिमा कुनै नकारात्मक असर हुने, नहुने बारेमा तीन हप्तासम्म अध्ययन गरिनेछ । त्यसपछि मार्चदेखि अरु ३७ लाख स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी सरकारको छ । अप्रिलदेखि ६५ वा सोभन्दा बढी उमेरका तीन करोड ६० लाख व्यक्तिलाई खोप दिइने छ ।  

खोप अभियानको व्यवस्थापन गरिरहनु भएका जापानका मन्त्री तारो कोनोले आमजनतालाई खोप दिने बारेमा अझै समय नतोएिको बताएका छन् । उनले जापानका लागि आवश्यक कोभिड–१९ खोपका लागि तीन वटा प्रमुख फर्मास्युटिकल फर्मसँग सम्झौता भइसकेको जानकारी दिएका छन् । हालसम्म जापानले फाइजरको खोपलाई मान्यता दिएको छ, तर अस्ट्राजेनिकाले पनि स्वीकृतिका लागि निवेदन दिएको छ । 

जापानमा कुनै पनि खोपको स्वीकृति प्रक्रिया निकै सुस्त हुने गरेको छ किनभने खोप स्वीकृत गर्नुअघि देशभित्रै परीक्षण गरेको हुनु पर्ने व्यवस्था छ । बेलायत वा संयुक्तराज्य अमेरिकाको तुलनामा जापानमा कोरोनाभाइरसको संक्रमण कमै देखिएको थियो । जापानमा करिब चार लाख १८ हजार संक्रमित हुनुका साथै करिब ७ हजारको मृत्यु भएको थियो । एएफपी 

प्रतिक्रिया दिनुहोस