aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अबको डेढ वर्षपछि यस्तो बन्दैछन् मालपोत कार्यालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
अबको डेढ वर्षपछि यस्तो बन्दैछन् मालपोत कार्यालय

काठमाडौं । अबको डेढदेखि २ वर्षसम्म मालपोत कार्यालयहरू पेपरलेस, क्यासलेस तथा फेसलेस बन्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले यहि आर्थिक वर्षभित्र एक सय आठ वटा मालपोत कार्यालयमा भू सेवा केन्द्र (पाम) सञ्चालनमा ल्याउने तयारी गरिरहेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए । ‘पाम’ प्रणाली लागू भएका मालपोत कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र सहज सेवा दिइरहेको उनले बताए (सेवाग्राहीले इन्टरनेटको माध्यमबाट जग्गा प्रशासन सम्बन्धी कार्य गर्न सकिने प्रणाली हो ‘पाम’) । केही समयपछि सेवाग्राही लालपूर्जा लिनको लागि पनि मालपोत कार्यालय आउन पर्दैन, उनले भने ‘यो सबै काम स्थानीय तहबाटै हुनेछ । सबै मालपोत कार्यालयमा यो प्रणाली लागू भएपछि आम सेवाग्राहीहरूले कर्मचारीहरूको करकर सुन्नु पर्ने छैन । 

‘अबको बढीमा २ वर्षभित्र देशमा सञ्चालित सबै मालपोत कार्यालयमा भू सेवा केन्द्र सञ्चालनमा आउने छ । सबै मालपोत कार्यालयमा यो प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले सेवा लिनको लािग कार्यालय धाउनु पर्दैन,’ उनले भने ‘घरमै बसी बसी जग्गा सम्बन्धी सबै काम गर्न सकिन्छ ।’ यति सम्मकी राजस्व तिर्नमात्रै होइन जग्गाको नामसारी गर्नदेखि जग्गा धनी पूर्जा लालपूर्जा लिनसमेत कार्यालय जानु पर्दैन ।’ मालपोत कार्यालयमा हुने भिडभाड कम गर्न तथा हस्त लिखित तथा म्यानुयल कामलाई विस्थापित गर्ने उद्देश्य सहित डिजिटल नेपालको फ्रेमवर्क भित्र रहेर यो प्रणाली शुरु गरेको हो । 

मालपोत कार्यालय पुरै डिजिटल भएपछि यस क्षेत्रमा हुँदै आएका विकृति र विसंगति पनि आफै हट्ने उनले बताए । कर्मचारीले ग्राहकको अनुहार नै देख्न नपाएपपछि, नगद समाउनै नपाउने भएपछि अहिले हुँदै आएका काम कारवाहीमा ठूलो परिवर्तन आउने प्रवक्ता सुवेदीले बताए । यो प्रणाली लागू भएपश्चात जग्गाको नामसारी, रोक्का तथा फुकुवाको काम स्थानीय तहले गर्ने गरी काम अघि बढाएको छ ।

लेखापढी व्यवसायी, व्यक्तिगत र स्थानीय तहले भू–सेवा केन्द्रको अनुमति लिन पूर्वाधार जुटाउनु पर्छ । बैंक तथा वित्तीय संस्थासँग भने पहिलेदेखि नै आवश्यक पूर्वाधार हुने भएकाले प्रक्रिया पु¥याएर निवेदन दिनासाथ अनुमति दिन सकिन्छ ।  मालपोत कार्यालय सिन्धुपाल्चोक, गुलरिया, धनकुटा, डोटी, धनगढी, रामेछाप, कावासोतीले हिजोमात्र भ–सेवा केन्द्र सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था, स्थानीय तहदेखि लेखापढी व्यवसायीसम्मका लागि सूचना प्रकाशित गरेको छ । 

माघमा ४ अर्ब उठ्यो राजस्व

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म भूमि व्यवस्थापन तथा अभिलेख विभागले ४ अर्ब १७ करोड १० लाख राजस्व संकलन गरेको छ । विभागले देशभर सञ्चालन भएका १२६ वटा मालपोत कार्यालयहरूले गरेको एक लाख ५३ दुई सय एक कारोबारबाट सो राजस्व संकलन गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस