
काठमाडौं । राजधानीवासीको साझा आँगनका रूपमा रहेको खुलामञ्चमा भएको अवरोध हटाउने अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले बुधबार खुलामञ्च क्षेत्रमा रहेका केही संरचना र सामानहरू हटाएको छ । महानगरले दरबार हाइस्कुल, वीर अस्पताललगायतका संरचना निर्माणका लागि राखिएका सामग्री हटाउन थालेको हो ।
काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सार्वजनिक खुला ठाउँहरूलाई पूर्ण रूपमा खुला नै राख्ने अभियानअन्तर्गत खुलामञ्च क्षेत्रमा रहेका संरचनालाई हटाउन सुरु गरिएको जानकारी दिए ।
विशेषगरी २०७२ सालको भूकम्पछि दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणका क्रममा त्यहाँ राखिएका निर्माण सामग्री र त्यहाँ काम गर्ने श्रमिकलाई बस्न निर्माण गरिएका संरचना सम्बन्धित निकायलाई जानकारी दिएर बुधबार हटाइएको महानगर प्रमुख शाक्यले बताए ।
उनले भने, “दरबार हाइस्कुल र वीर अस्पतालका भवन निर्माणका क्रममा ती आयोजनाको अनुरोधमा नै महानगरले निर्माण सामग्री राख्न तथा विभिन्न संरचना निर्माण गर्ने अनुमति दिएको थियो । ती आयोजनाको काम सम्पन्न भएसँगै ती निर्माण सामग्री र संरचना हटाउन सुरु गरिएको हो ।” काठमाडौँ टावर निर्माण भएसँगै अस्थायी रूपमा रहेको बसपार्क पनि हटाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस