
काठमाडौं । बाहिरी चक्रपथ निर्माणमा देखिएको अन्योलता झन् झन् बढ्दै गएको छ । बाहिरी चक्रपथ निर्माणका प्रस्तावित क्षेत्रमा धमाधम नयाँ घरहरु बन्न चालेपछि आयोजना झनै अनिश्चित बन्ने देखिएको हो । आयोजनास्थल रहेका स्थानीय तहहरूले यतिबेला प्रभावित क्षेत्रमा नयाँ घरका लागि नक्सा पास गरिरहेका छन् । नक्सा पाससँगै नयाँ र बन्दै गर्दा सो क्षेत्रमा आयोजना बन्नै नसक्ने देखिएको हो ।
सो आयोजनाको निर्माण गर्ने जिम्मेवारी पाएको काठमाडौं उपत्यका विकास प्राधिकरण नै अब आयोजना के हुन्छ भन्ने अन्यौलमा छ । प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले अघिल्लो लगानी सम्मेलनपछि लगानी बोर्डले आयोजनामा लगानी जुटाउने र निर्माण गर्ने जिम्मा लिएकोले अब आफूलाई यसबारे केही थाहा नहुने बताउँछन् । अब यो जिम्मा लगानी बोर्डकै भएको आयुक्त तिवारीको भनाइ छ ।
प्राधिकरणले हात छोडेपछि यतिबेला स्थानीय तहहरूले सो क्षेत्रमा नयाँ घरको लागि नक्सा पास गर्न सुरु गरेका हुन् । चन्द्रागिरी नगरपालिकाले मात्रै आफ्नो नगर परिसरमा पर्ने आयोजना क्षेत्रमा साढे २ दर्जन भन्दा बढी घरको नक्सा पास गरिसकेको छ । नगरपालिकका पूर्वाधार तथा जग्गा शाखा प्रमुख रविन्द्र रिजालले सो संख्यामा नक्सा पास भएको बताए । प्राधिकरणले जग्गामा कुनै रोकावट नरहेको बताएको र प्रचलित कानून बमोजिम नक्सा पास रोक्नु पर्ने कुनै कारण समेत नदेखिएको भन्दै आफूहरुले नक्सा पास गरिदिएको शाखा प्रमुख रिजालको भनाइ छ ।
‘आयोजना क्षेत्र भनेपछि सुरुमा हामीले नक्सा पास गर्न रोक्यौं । तर, काठमाडौं उपत्यका विकास प्राधिकरणले नक्सा पास र कित्ताकाट दुबैमा रोक्का भएको छैन भनेपछि हामीले नयाँ नक्सा पास गरिदिएका हौं’ रिजालले आर्थिक न्युजसँग भने । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न पूरै (६६.५८ किमी) खण्डमा जग्गा रोक्का ४ वर्षअघिनै गर्न लागेको थियो । त्यतिबेला तत्कालिन मन्त्री र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच तालमेल नमिल्दा जग्गा रोक्का सम्बन्धी निर्णय हुने सकेको थिएन ।
२०७५ चैतमा भएको लगानी सम्मेलनले चीनले लगानी गर्ने भनिएको थियो । त्यसपछि बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल, आरएफपी) माग्नका लागि तयार भएको थियो । बाहिरी चक्रपथ निर्माण गर्न चीनका चारवटा कम्पनीले आशयपत्र दिएकोमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले मात्र लगानी बोर्डले तोकेको मापदण्ड पूरा गरेको थियो ।
सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई यो आयोजनामार्फत् जोड्दै व्यवस्थित सहरीकरण गर्ने बृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव अघि सारेको हो । कुल ७१.९३ किलोमिटर प्रस्ताव गरिएको बाहिरी चक्रपथको कुल लम्बाइमध्ये काठमाडौँमा ३५.८ किलोमिटर, ललितपुरमा १५.८० र भक्तपुरमा २१.५ किलोमिटर पर्छ ।
लगानी बोर्डका अनुसार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गरिने यस चक्रपथ आठ लेनको हुने छ । मूल सडकसहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ तथा आपाङ्गमैत्री पेटीको समेत व्यवस्था हुने गरी चक्रपथ बनाइने २०७४ सालमा बनेको डीपीआरमा उल्लेख छ ।
सो चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो भने आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य आर्थिक वर्ष २०६१/६२ देखि नै प्रारम्भ गरिने छ,’ भनी बजेट भाषणमार्फत घोषणा भएपछि यससम्बन्धी कार्य प्रारम्भ भएको हो । त्यस क्रममा ७२ किमि रहेको यो सडक विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) पछि भने यसो दूरी ६६.५८ किमि कायम गरिएको हो ।
यो सडकको विभिन्न १० वटाखण्डमा डीपीआर तयार भइसकेको थियो । यसमध्ये काठमाडौंको खड्का भद्रकाली–सनडोल खण्डको ६.५ किमि क्षेत्रभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गोकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमाना पर्छ । यही सडकको अर्कोखण्ड भक्तपुरको भातेढिकुरोदेखि अरनिको राजमार्ग हुँदै नयाँ ठिमीसम्मको ५.६ किमि दूरीको पनि डीपीआर बनेको थिएन । यो खण्डभित्र भातेढिकुरो अरनिको राजमार्ग नयाँ ठिमी हुँदै राधेराधेसम्म बाहिरी चक्रपथको रेखांकन तय भएको छ । बाँकी आठवटा खण्डको डीपीआर तयार भएर यसको पूर्णविवरण मन्त्रालय पठाएको जानकारी बाहिरी चक्रपथ विकास आयोजना दिएको छ ।
डीपीआर तयार भएका आठवटा खण्डमध्ये काठमाडौंमा पाँच, भक्तपुरमा तीन र ललितपुरमा दुईवटा खण्ड छन् । काठमाडौंको चोभार–सतुङल (६.६ किमि) खण्डभित्र चोभारकै भूतखेल, पाँगा बालकुमारी, मच्छेगाउँ, सतुंगल हुँदै बलम्बुसम्म पुग्छ।
सतुंगल पैयाँटार (१०.९२ किमि)मा सतुंगल–बलम्बु, बलम्बु–चुनिखेल, पुरानो नैकाप–किट्नी भन्ञ्याङ, स्युचाटार–किम्सी, डाडाँ पौवा–सीतापाइला, इचंगुनारायण–रानीवन–पैयाँटारमा चक्रपथ पर्नेछ। पैयाँटार खड्का भद्रकाली (६ किमि)मा धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, विष्णुु बूढानीलकण्ठ, चपली घुम्ती हुँदै अगाडि बढ्ने गरी डीपीआर तयार भएको छ। सनडोल–नयाँपाटी–थलीडाँछी (३.९६ किमि) खण्डभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गाकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमानासम्म पर्छ ।
भक्तपुरमा तीन खण्ड छन्। यसमध्ये डीपीआर भएको थली डाँछी भातेढिकुरो (९.५१ किमि) भित्र मनोहरा खोला, चागुँनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी खरीपाटी, बागेश्वरी, सुडाल, ताथली चित्तपोल, भातेढिकुरो अरनिको राजमार्गसम्म बाहिरी चक्रपथको रेखांकनसहितको डीपीआर प्राधिकरणले तयार पारेको छ ।
यही जिल्लाभित्रको अर्को खण्ड अरनिको राजमार्ग दधिकोट सिरुटार (३.५ किमि)मा नयाँ ठिमी अरनिको राजमार्ग, कटुन्जे, दधिकोट, सिरुटार लभुको सिमानाभित्र रहेको क्षेत्रको डीपीआर तयारी अवस्थामा रहेको छ ।
ललितपुरमा दुबै खण्डको डीपीआर तयार छ । ललितपुरमा लुभु हरिसिद्धि (५ किमि) खण्डमा लुभु, सानागाउँ, हरिसिद्धि र मूलसडक क्षेत्रभित्र यो सकडक पर्छ। यही जिल्लाभित्रको अर्कोखण्ड हरिसिद्धि–खोकना (८.९९ किमि) मा भने हरिसिद्धि, ठैव, भरुवारासी, धापाखेल, सानाकोठी, बुङमती, खोकना, सानोखोकना, चोभार वाग्मती नदी हुँदै बाहिरी चक्रपथ निर्माण हुने रेखांकनसहितको डीपीआर तयार भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस