aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

वीरगञ्ज नाकाबाट ७ महीनामा ३ खर्बको वैदेशिक व्यापार

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ०७ फागुन २०७७
वीरगञ्ज नाकाबाट ७ महीनामा ३ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज । प्रमुख नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा करीब ३ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट चालू आवको माघ महीनासम्ममा २ अर्ब ९८ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको भन्सारले बताएको छ ।

वीरगञ्ज नाकाबाट मुख्य रूपमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ आयात हुन्छ । नेपाल आयल निगमले भित्र्याउने इन्धनमध्ये आधाभन्दा बढी परिमाण यही नाकाबाट आउँछ ।

निगमले वीरगञ्ज नाकाबाट डिजेलमात्रै २७ अर्ब रुपैयाँको ल्याएको छ । यो अवधिमा ९ अर्ब ८६ करोडको पेट्रोल र ९ अर्ब २९ करोड रुपैयाँको एपी ग्यास आयात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ ।

अघिल्लो आव २०७६/७७ को तुलनामा यो वर्ष पेट्रोल र ग्यासको आयात भने घटेको छ । कोरोना महामारीका कारण आवको शुरूका २ महीना पूर्ण बन्दाबन्दी र स्वदेशमा विद्युत्को खपत पनि बढेकाले इन्धनको आयात घटेको अनुमान वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीको छ ।

आवको शुरूका केही महीना डिजेलको आयात पनि घटेको थियो । पछिल्ला महीनाहरूमा माग बढेपछि आयात पनि बढेको भन्सार अधिकारीहरू बताउँछन् ।

यो नाकाबाट ७ महीनामा ३ अर्ब ८५ करोड रुपैयाँबराबरको जीपकार आयात भएको देखिन्छ । यस वर्ष यस्ता सवारीसाधनको आयात पनि घटेको छ ।

गतवर्षको समीक्षा अवधिमा ५ हजार २१५ ओटा यस्ता साधन भित्रिएकोमा यो वर्ष घटेर ३ हजार ४४९ मा खुम्चिएको छ । सरकारले गाडी आयातमा नीतिगत कडाइ गरेपछि महँगा गाडी आयात नभएको भन्सारले बताएको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले कच्चा पदार्थ यही नाकाबाट भिœयाउँछन् । यहाँ खुलेका फलाम, सिमेन्ट, औषधि, खाद्यान्न र कपडा उद्योगले कच्चा पदार्थ आयात गर्छन् ।

यो वर्षको ७ महीनामा समग्र आयात अघिल्लो वर्षको सो अवधिको तुलनामा कमी आएको भन्सार अधिकृत सुकमनीले बताए । ‘गतवर्षको तुलनामा आयातको आकार ७ प्रतिशतले घटेको छ । निर्यात भने ९ प्रतिशत बढेको छ,’ उनले आर्थिक अभियानसित भने । चालू आवको ७ महीनामा २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस