aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ०७ फागुन २०७७
खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात

काठमाडौं । सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो ।

सरकारले भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का समयमा तत्काल आपूर्ति गर्न अनिवार्य रूपमा ३३ हजार मेट्रिक टन ९मेटन० खाद्यान्न मौज्दात राख्नुपर्ने हुन्छ । तर, खाद्यसँग चामल, गहुँ र अहिले किनिइरहेको धानसमेत गरी करीब ३० हजार मेटन मात्रै खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा आवश्यकताअनुसार खाद्यान्न मौज्दात हुन नसकेको हो ।

खाद्यले चालू आर्थिक वर्षका लागि कुल ६० हजार मेटन धान खरीदको लक्ष्य राखेर किन्ने कार्य शुरू गरेको भए पनि हालसम्म २४ हजार २ सय ७९ मेटन मात्रै धान किन्न सकेको छ । सरकारले न्यूनतम समर्थन मूल्य तोकेको भन्दा फरक जातका जिरा मसिनो, कतर्नी, बास्मती, रञ्जित, मार्सीलगायत धानसमेत खाद्यले किनिरहेको र कम्पनीले तोकेको मूल्यभन्दा स्थानीय व्यापारीहरूले तोकेको बजार मूल्य बढी हुँदा खाद्यले आफ्नो लक्ष्यअनुरूप धान किन्न नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

खाद्य कम्पनीले देशभरका विभिन्न ११ स्थानबाट न्यूनतम समर्थन मूल्यमा धान किनिरहेको छ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । खाद्यले मकवानपुर धान प्रतिक्वीन्टल २८ सय २० रुपैयाँमा किसानहरूसँग किनिरहेको छ ।

तर, बर्दियाको राजापुरका स्थानीय व्यापारीहरूले सोही धान प्रतिक्वीन्टल ३ हजार रुपैयाँले किनिरहेका छन् । यसले गर्दा बर्दियामा खाद्यले लक्ष्यअनुसार धान किन्न सकेको छैन । ४० हजार क्वीन्टल धान किन्ने जिम्मा पाएको राजापुर राइस मिलले हालसम्म करीब ३ हजार ६ सय क्वीन्टल मात्र किन्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस