aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

  • रासस
    रासस
  • शनिबार, ०८ फागुन २०७७
हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिएको छ । शुक्रवार आयोजना गरिएको आठौं नगर सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रुपैयाँ रकम स्वीकृत गरेकामा चालूतर्फ विनियोजन भएको ५ करोड ४२ लाख ५३ हजार ६६० मध्ये २ करोड ९० लाख ६६ हजार ८२२ तथा पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन भएकोमा ५ करोड ६३ लाख ४३ हजार ७४८ रुपैयाँ खर्च भएको छ । 

गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३।४७ प्रतिशत र पुँजीगततर्फ ३१।६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिइन् । शिक्षा शाखाका लागि १९ करोड ९५ लाख रुपैयाँ विनियोजन भएकामा ७ करोड ९६ लाख ७६ हजार ८६२ रुपैयाँ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख विनियोजन भएकोमा १ लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि ५ करोड ७१ लाख विनियोजन भएकामा २ करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख विनियोजन गरिएकोमा ५ लाख ९४ हजार ६९० खर्च भएको छ ।

नगर सभाले चालू आर्थिक वर्षको स्वीकृत ८ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइँसहित संशोधन गरेको छ । ३ लाख ५० हजार विनियोजन गरिएको कालिका–देवीथान–धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ ।

१ लाख विनियोजन गरिएको ताराखसे–गैरीगाउँ–आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगर सभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगर प्रमुख इवन राईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई पारित गरेको छ ।

११ वडा रहेको नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँडतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालू आवको साढे ५ करोड रुपैयाँ बढी रकम खर्च गरेको छ ।

नगरपालिकाको आठौं हिउँदे नगर सभामा उपप्रमुख राईले चालू आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्ने क्रममा संघ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँडतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न ५ करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिए ।

कोभिड–१९ को कारण देखाउँदै संघ र प्रदेशबाट सिलिङ अनुसारको बजेट नआउँदा आव २०७६र०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगर सभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र संघबाट सिलिङ अनुसारको बजेट नआएपछि नगरपालिकाको नगर सभाले अधुरा योजना पूरा गर्नका लागि ५ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

विनियोजन भएका बजेटमध्ये हालसम्म ३ करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजार रुपैयाँमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालू आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ ।

बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगर प्रमुख राईले बताए । ‘हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्‍यौं, योजना बनायौं र सम्झौता गरेर काम अघि बढायौं,’ उनले भने, ‘तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौं ।’

प्रतिक्रिया दिनुहोस