aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकामा उडिरहेको विमानमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
अमेरिकामा उडिरहेको विमानमा आगलागी

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए । 

विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए । 

विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताएका छन् । 

युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ । विमानका पाइलटले “विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं” भन्दै टावरसँग सम्पर्क गरेका थिए । एएफपी

प्रतिक्रिया दिनुहोस