aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

बारा–पर्सा कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १० फागुन २०७७
बारा–पर्सा कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा निर्माण सामग्रीका उद्योगमा लगानी बढेको छ । मुख्य नाका र भौगोलिक रूपमा मध्यभागमा रहनुका कारण यो औद्योगिक कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र बनेको सरोकारका उद्यमीको भनाइ छ ।

यो कोरिडोरलाई आधार बनाएर निर्माण सामग्री उत्पादनमा लगानी बढाइरहेको क्याल समूहका निर्देशक राजेश क्याल बारा–पर्सा करिडोरलाई निर्माण सामग्री उत्पादनको हबको रूपमा ब्रान्डिङ गर्न सकिने बताउँछन् । ‘लगानी परिमाण र सम्भावनाका आधारमा कोरिडोरलाई निर्माण सामग्री उत्पादनको विशेष क्षेत्रको रूपमा ब्रान्डिङ गर्न सकिन्छ । यसका लागि यो क्षेत्रमा खुल्ने उद्योगलाई विशेष सहुलियतसहितको व्यवस्था मिलाइनुपर्छ,’ क्यालको भनाइ छ ।

निर्माण सामग्रीका उद्योगले आयात गर्ने कच्चा पदार्थ, विद्युत्, कर तथा राजस्वमा छूट दिएर यो क्षेत्रलाई निर्माण सामग्री उत्पादनको केन्द्रका रूपमा विस्तार गर्न सकिनेमा उद्योगी प्रदीप केडिया पनि विश्वस्त छन् । मुख्य नाका वीरगञ्जसँगै जोडिएर रहेकाले कच्चा पदार्थको आयात सहज छ । यस क्षेत्रको भौगोलिक अवस्थिति मुलुकको मध्यभागमा भएकाले उत्पादनको ढुवानी र बजारीकरण पनि सहज हुने केडिया बताउँछन् । बारा–पर्सा कोरिडोरको सम्भाव्यता दोहनका लागि लगानीको सुरक्षित वातावरण र पूर्वाधारको व्यवस्थित प्रबन्धको पूर्तिलाई भने ध्यान दिइनुपर्ने उद्यमीको भनाइ छ । ‘उपलब्ध पूर्वाधारलाई प्रभावकारी परिचालन र आवश्यकीय आधार निर्माण भएमा यो क्षेत्रलाई निर्माण सामग्री उत्पादनको केन्द्रका रूपमा स्थापित गर्न सकिने पर्याप्त सम्भावना छ,’ तराई स्टीलका सञ्चालकसमेत रहेका केडियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस