aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर छल्ने बिरुद्ध कडा बिगो दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ असार २०७६
कर छल्ने बिरुद्ध कडा बिगो दाबी

निम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्नेविरुद्ध सरकारले करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

झुट्टा तथा नक्कली बिजक तयार गरी राजस्व छल्ने सुनसरी इनरुवा–९ घर भई भक्तपुर ठिमी बस्ने गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको छ।

भट्टराई र कार्कीले निम्न आर्थिक अवस्था भएका व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर कम्पनी दर्ता गरेका हुन्। उनीहरूले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारसमेतका नाममा कम्पनी दर्ता गरेका थिए। ती व्यक्तिका नाममा दर्ता भएका कम्पनीको आर्थिक कारोबार भट्टराई र कार्कीले गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस