aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

क्यूआर कोडमार्फत हुने कारोबार ९१ प्रतिशत बढ्यो

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, ११ फागुन २०७७
क्यूआर कोडमार्फत हुने कारोबार ९१ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित कारोबार करिब ९० प्रतिशत बढेको छ । खासगरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर कोडमार्फतको कारोबार पछिल्लो समय उल्लेख्य बढेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले यो वर्ष क्यूआर कोडमा आधारित कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

ठूला कारोबारका लागि आरटीजीएस, आईपीएस कनेक्टलगायत प्रणाली उपलब्ध छन् । तर ती प्रणालीबाट साना तथा खुद्रा कारोबार गर्न सकिन्न । यसकारण साना तथा खुद्रा कारोबारालाई समेट्न क्यूआर कोड प्रयोगमा ल्याइएको राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख भुवन कँडेलले बताए । ‘यो साना तथा खुद्रा कारोबार लक्षित प्रणाली हो, छिटो, सजिलो र सुलभ पनि छ,’ उनले भने, ‘यो कारोबारमा एटीएम र पोओएस कारोबारमा जस्तो सिस्टम प्रदायकलाई शुल्क तिर्नु पनि पर्दैन । यसकारण पैसा विदेश जाँदैन, स्वदेशमै रहन्छ ।’

ठूलो रकमको कारोबार सधैं हँुदैन । तर आममानिसले दैनिक जीविका चलाउनेदेखि आधारभूत आवश्यकता पूरा गर्न पनि कारोबार गरिरहनुपर्छ । प्रायस् यस्ता कारोबार स–साना रकमका हुन्छन् । ती कारोबार विद्युतीय प्रणालीमा समेट्नकै लागि राष्ट्र बैंकले क्यूआर कोडलाई प्राथमिकतामा राखेको भुक्तानी विभाग प्रमुख कँडेलको दाबी छ । ‘घरपरिवारले दैनिक दूध, तरकारी, फलफूल, लत्ताकपडालगायत वस्तु तथा सेवा खरिदमा क्यूआर कोड प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘यो छिटो, सजिलो र सुलभ हुन्छ ।’

क्यूआर कोर्डमा आधारित कारोबारको विकास तथा विस्तारका लागि राष्ट्र बैंकले पनि प्रयास गरिरहेको छ । यसअनुसार क्यूआर कोडमा आधारिक कारोबार सुरु गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह मात्र होइन, सहजीकरण पनि गरिरहेको छ । सोही क्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी स्थानमा क्यूआर कोड कारोबारको शुभारम्भ गरिसकेका छन् ।

सुरुमा गत पुसमा सानिमा बैंकले नक्सालस्थित तरकारी बजारबाट क्यूआर कोडमार्फत कारोबार थालेको थियो । त्यसपछि पुस २४ मा प्रभु बैंकले कालिमाटी तरकारी बजार, माघ ९ मा ग्लोबल आईएमई बैंकले ललितपुरस्थित नख्खु तरकारी बजार, माघ १६ मा नबिल बैंकले कुलेश्वरस्थित तरकारी बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडको कारोबार सुरु गरेका थिए । गत माघ २१ मा माछापुच्छ्ेर्र बैंकले काठमाडौं तीनकुनेस्थित तरकारी बजार, माघ ३० मा सिभिल बैंकले सिन्धुली बजार र यही फागुन ७ मा बंगलादेश बैंकले चाबहिल तरकारी बजारमा क्यूआर कोडको कारोबार सुरु गरेका छन् । सबै स्थानमा गभर्नर अधिकारीले क्यूआर कोडको कारोबार शुभारम्भ गरेका हुन् । यसले पनि क्यूआर कोडमा आधारित कारोबार विस्तार राष्ट्र बैंकको प्राथमिकतामा परेको पुष्टि हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस