
काठमाडौं । धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने भएको छ। यस वर्ष आवश्यकभन्दा कम वर्षा हुने देखिएको छ। रासायनिक मल पनि पर्याप्त उपलब्ध नभएको अवस्थामा मनसुनी वर्षा पनि अनुकूल नहुँदा कृषि उत्पादनमा असर पर्ने देखिएको छ।
नेपालका कतिपय स्थानमा आकाशे पानीको भरमा धान खेती हुने भएकाले यो बालीलाई मनसुनले प्रभाव पार्छ। निरन्तर एकनासले मनसुनले साथ दियो भने उत्पादन अत्यधिक हुन्छ, एक नासे र सबैतिर औसत पानी परेन भने त्यो वर्ष धान उत्पादन घट्छ। चालु आर्थिक वर्ष धानलाई मनसुनले औसतभन्दा बढी साथ दिएको थियो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा विज्ञ सुभास रिमालका अनुसार सामान्यतयाः १० जुनमा सक्रिय हुने मनसुन यो वर्ष करिब १० दिन ढिलो गरी सक्रिय भएको छ। उपत्यकासहित बाहिरी जिल्लामा पानी पर्न थालेको छ। महाशाखाका अनुसार यो वर्ष मध्य र पूर्वी भागमा औसतभन्दा कम पानी पर्ने सम्भावना रहेको अध्ययनले देखाएको छ। धान खेती यही मध्य र पूर्वी भागमा अत्यधिक हुन्छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस