aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएन्, घाटामै उड्डयन क्षेत्र

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, १३ फागुन २०७७
महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएन्, घाटामै उड्डयन क्षेत्र

काठमाडौं। कोभिड—१९ का कारण उत्पन्न महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएको छैन। पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रंक रुट (तराई जिल्लाका उडान) मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका उडान) र हेलिकप्टर उडानमा सुधार नआउँदा उड्डयन क्षेत्रले अझै व्यावसायिक लय समातेको छैन। यसका साथै अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको पनि व्यवसायले गति लिन सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथ्यांकअनुसार कोभिड—१९ को महामारीपछि हाल आन्तरिकतर्फको ट्रंक रुट र स्टल रुटतर्फ आउने जाने गरी दैनिक करिब दुई सय उडान भइरहेको छ। कोभिड—१९ महामारी अघिसम्म ती दुवै रुटमा दैनिक औसत तीन सय उडान हुन्थ्यो। 

अहिले ट्रंक रुटमा सबै वायुसेवा कम्पनीले करिब ८० प्रतिशत अकुपेन्सीमा जहाज उडाइरहेका छन्। तर, स्टल रुटका उडान नगन्य संख्यामा भइरहँदा ५० प्रतिशतभन्दा पनि कम अकुपेन्सी छ। फाट्टफुट्ट हुने स्टल रुटको उडानमा कार्गोको हिस्सा बढी हुने गरेको आन्तरिक वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ। 

आन्तरिक उडान पुरानै लयमा फर्किंदै गएको तथ्यांकले देखाए पनि सबै आन्तरिक उडानका जहाज भने उड्न सकेका छैनन्। ट्रंक रुट भएको घाटालाई नाफामा परिणत गर्न व्यवसायी सफल भए पनि स्टल रुट र हेलिकप्टर कम्पनी भने घाटा खाएर थन्किने अवस्थामा पुगेका छन्। 

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ हाल आउने जाने गरी ३० देखि ३६ उडान हुँदै छ। कोभिडअघि भने अन्तर्राष्ट्रियतर्फ करिब ६५ उडान हुन्थ्यो। आन्तरिकतर्फ यात्रुको दैनिक चाप करिब १० हजारको हाराहारीमा पुगेको छ। आन्तरिक उडानको संख्या पहिलाको तुलनामा केही कम भए पनि अकुपेन्सीको आधारमा पुरानै लयमा फर्किएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। अन्तर्राष्ट्रियतर्फ भने उडान र यात्रु संख्यामा खासै प्रगति नभएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस