_20210225162140.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् ।
उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्याष लिनुपर्ने अवस्था छ । अलिकति पनि ईज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’
प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने,‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’
कांग्रेस, नेकपा दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेद्धवारको नाम अघि बढ्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘तीन दल हुन्छ कि कांग्रेस र नेकपामात्रै हुन्छ ? यो टुँग्गिएको छैन् । नेकपाको आन्तरिक विभाजन जो छ, कानूनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाहीँ प्राकृतिक हुनुपर्छ । अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जानेखालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समिक्षा गरौं । नयाँ आधारहरु कसरी बन्छ ? अनि मात्रै तय हुन्छ ।’
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस