aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

के सांसदहरुले दुई महिनाको तलब पाउलान् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ फागुन २०७७
के सांसदहरुले दुई महिनाको तलब पाउलान् ?

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि एउटा प्रश्न धेरैको मनमा उब्जिएको छ। त्यो के हो भने गएको दुई महिना संसद कोमामा रहेका बेलाको  तलबभत्ता पाउँछन् या पाउँदैनन् ? 

त्यसो त मानिसहरूले के पनि प्रश्न गरिरहेका छन् भने हाम्रा सांसदहरुले त्यसबेलाको तलबभत्ता लिनुहुन्छ हुँदैन ? नैतिकता र इमान्दारिता लगभग गुमाइसकेका मानिसहरु मात्रै हाम्रो प्रतिनिधिसभामा रहेका हुनाले दोस्रो प्रश्न खासै सान्दर्भिक हुँदैन। के मा शंका छैन भने हाम्रा प्रतिनिधिहरुले जुनसुकै अवस्थाको भएपनि पैसा भनेपछि बुझ्छन्, लिन्छन्, हात थाप्छन्। 

तर, पहिलो प्रश्नको जवाफ चाहिँ त्यति कर्णप्रिय छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक हर्कतको विरुद्ध सडकमा नारा लगाइरहँदा नागरिकहरू के पनि भनिरहेका थिए भने अब ओली राजको अन्त्यसँगै नेपालमा नैतिकता इमान्दारिता र जवाफदेहिता पनि पुनर्स्थापित हुनुपर्छ। तर, नागरिकको त्यो चाहना पूरा हुने देखिएन किनकि गएको दुई महिना सांसदको रुपमा कुनै महत्वपूर्ण भूमिका निर्वाह गरे पनि प्रतिनिधिसभाका सबै सांसदहरुलाई त्यसबेलाको पुरै तलब भत्ता दिने तयारीमा संसद सचिवालय छ।

सचिवालय स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलासँगै संसद पुस ५ गते कै अवस्थामा फर्किएको हुँदा त्यसयताको तलबभत्ता सांसदलाई दिन लागिएको हो। यहाँनेर रोचक कुरा यो हो कि संसद विगठनको पक्षमा वकालत गरिरहेका सांसदहरुले समेत त्यसबेलाको तलब भत्ता पाउने भएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भन्दै सडकमा नारा लगाउने सांसदहरुले त त्यसैपनि त्यसबेलाको तलवभत्ता पाउनुपर्छ भन्ने नै भए। यदि नैतिकता हुँदो हो त केपी ओलीको कदम सहि हो भन्ने सांसदहरुले राजीनामा दिनुपर्थ्यो । तर, त्यो अपेक्षा गर्नु आफैंमा गलत चाहना हुनेछ किनकि हामी ति सांसदहरुबाट नैतिकताको थोरै पनि कल्पना गर्न सक्दैनौ। यसो किन भनिएको हो भने उनीहरुका आदर्श पुरुष केपी ओली नै नैतिकता भन्ने शब्द निकै पर छोडेर अझैपनि प्रधानमन्त्रीको कुर्सीमा निर्लज्ज ढंगले बसिरहेका छन्। 

यता ओली कदमको विरोध गर्ने सांसदहरुले के घोषणा गर्न सक्नुपर्थ्यो भने हामी संसद अचेत अवस्थामा रहेको बेलाको तलबभत्ता लिने छैनौं। तर, त्यस्तो बोली कोही कसैले बोलेको सुनिएको छैन। बरु, एकमुष्ट रुपमा दुई महिनाको पैसा पाइने भइयो भनेर केही सांसदहरूले आपसमा खुसियाली साटासाट गरेको भने देखियो। 

ओली समूहका प्रदेश नं एकबाट प्रतिनिधित्व गर्ने एकजना संसद त निकै अनौठो ढंगले एकजना पत्रकारसँग अनौपचारिक बातचित गरिरहेका थिए- हेर्नुस् न, भन्न पनि के भन्नु तर मेरो त त्यो बेला (चुनावको बेला) लागेको ऋण अझै तिर्न बाँकी नै थियो। अब भने अलिक सहज हुन्छ की ! संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय ठीक छ भन्ने सांसदले सर्वोच्चको फैसला सुनेपछी दिएको प्रतिकृया हो, यो।

जे होस्, अब सबै सांसदहरुले संसद विघठित अवस्थाको पनि तलव भत्ता पाउने भएका छन्। एकजना सांसदको पारिश्रमिक मासिक ६४ हजार रुपैयाँ छ । फाल्गुन महिना समेतको पारिश्रमिक बुझ्दा एकजना सांसदले एक लाख ९२ हजार त पारिश्रमिक वापत मात्रै बुझ्नेछन् । त्यसबाहेक घरभाडा, सञ्चारलगायतका अन्य सेवा–सुविधा पनि सांसदहरुले पाउँछन् । हाल प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसअनुसार मासिक एक करोड ७६ लाख रुपैयाँ प्रतिनिधिसभा सदस्यहरुले पारिश्रमिक मात्रै पाउँछन् ।
 

प्रतिक्रिया दिनुहोस