
काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ ।
खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठवटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्रीय स्तरको एक र सातवटै प्रदेशमा एक–एकवटा खोप भण्डार गृह स्थापना कार्य अगाडि बढाइएको हो ।
मन्त्रालयको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले सबै नेपालीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन खोपको सुरक्षित एवं उचित व्यवस्थापन गर्ने उद्देश्यले भण्डारण बनाउन थालिएको जानकारी दिए । केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डार गृह स्थापना गर्ने काम सुरु भइसकेको जानकारी दिँदै उनले भने, “अबको दुई महिनाभित्र भण्डारण केन्द्र स्थापना कार्य सम्पन्न हुनेछन् ।”
एउटा केन्द्रको निर्माण लागत एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल लागत नौ करोड ६० लाख रुपियाँमा केन्द्र स्थापना हुन लागेको उनले जानकारी दिए । तत्कालका लागि कोरोना खोप भण्डारण गरी सबै क्षेत्रमा सहज वितरण गर्ने लक्ष्य सरकारको भए पनि यी केन्द्र पछि अन्य खोप भण्डारणमा प्रयोग हुनेछन् ।
खोप भण्डारण केन्द्रहरूमध्ये केन्द्रीय स्तरको बाराको पथलैयामा रहने छ । यस्तै प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरस्थित मुजैलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा भण्डारण केन्द्र निर्माण गरिने स्वास्थ्य भवन शाखा प्रमुख पौडेलले जानकारी दिए ।
उनले भने, “आठ भण्डारण केन्द्रमध्ये विराटनगर, जनकपुर र धनगढीमा निर्माण कार्य सुरु भइसकेको छ । बाँकी पाँच ठाउँका लागि निर्माण कम्पनीसँग सम्झौता प्रक्रिया अन्तिम तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस