aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

विश्वस्तरीय वित्तीय संस्था हाँक्दै महिला अर्थशास्त्री

  • मानमती पन्त
    मानमती पन्त
  • शनिबार, १५ फागुन २०७७
विश्वस्तरीय वित्तीय संस्था हाँक्दै महिला अर्थशास्त्री

काठमाडौं । विश्वको बदलिँदो परिवेशमा महिलाहरू नेतृत्वदायी भूमिका निभाउने स्थानमा पुगेका छन् । यस विषयले किन पनि महत्वपूर्ण स्थान पाएको हो भने २१ अाैं शताब्दीमा आइपुग्दा पनि उनीहरुले बिरलै नेतृत्वदायी भूमिका खेल्ने अवसर पाएका छन् । तथापि कार्यालय व्यवस्थापन जति समावेशी र विविधताको सिद्धान्तमा आधारित हुँदैछ, त्यतिनै उच्च पदमा उनीहरुले पनि सङ्ख्या वृद्धि हुँदैछ ।

समाज विकासलाई प्रभाव पार्ने विभिन्न आयाम मध्य वित्त र अर्थ पनि एक महत्वपूर्ण क्षेत्र हो । र यस क्षेत्रले पनि अब महिलाहरुको बढ्दो सामथ्र्यको लाभ लिन पाइरहेको छ । उनीहरु अर्थशास्त्रीका रुपमा विश्व बैंक देखि अन्र्तराष्ट्रिय मुद्रा कोष जस्ता विश्वकै प्रतिष्ठित संस्थाहरुमा निणार्यक भूमिका खेलिरहेका छन् । ती मध्येका केही शक्तिशाली र प्रेरणादायी महिलाहरुको सम्मानयोग्य पेशागत संघर्ष ।

अन्सुला कान्त 

भारतको स्टेट बैंक अफ इन्डियाकी (एसबीआई) म्यानेजिङ डाइरेक्टर अन्सुला कान्त तब इतिहास रच्न सफल भइन् विश्व बैंकले उनलाई चीफ फाइन्यान्सियल अफिसर रुपमा नियुक्त ग¥यो । उनी नै सो बैंकको पहिलो महिला सिएफओ पनि हुन् । 

७ सेप्टेम्बर १९६० मा उत्तराखंडमा जन्मेकी कान्तले ३५ वर्ष एसबीआईमा कार्यरत रहिन् । उनले १९७९ मा लेडि श्रीराम कलेजबाट स्नातक गरिन् र १९८१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरिन् । 

१९८३ मा प्रोबेसनरी अफिसरको रुपमा प्रवेश गरेकी उनी निरन्तरता अघि बढ्दै सो बैंकको सीफओको पद सम्म पुग्न सफल भइन् । उनले आफ्नो कार्यकालमा बैंकको आय ३८ अर्ब अमेरिकी डलर र समष्टिगत सम्पत्ति ५०० अर्ब अमेरिकी डलर पुर्याउन सफल भएकी थिइन् । उनका पति सिङ्गापुरमा एसबीआईकै सीईओ छन् र उनको एक छोरा र एक छोरी छन् । 

हाल उनलाई विश्व बैंक ग्रुपको ब्यालेन्ससिट एण्ड फाइनान्सियल रिक्स म्यानेजमेन्ट गर्ने जिम्मेवार सुम्पिएको छ । उनी अहिले सो बैंकका अध्यक्ष डेभिड मल्पासलाई रिर्पोर्ट गर्छिन् । 

गीता गोपिनाथ

गोपिनाथले २०१८ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको पहिलो महिला मुख्य अर्थशास्त्रीको रुपमा कार्यभार सम्हालेकी छन् । 

८ डिसेम्बर १९७१ मा कोलकत्तामा जन्मेकी उनी ९ वर्षको उमेरमा आफ्नो परिवारसँग दक्षिण भारतको मैसुरमा गइन् । उनी त्यहाँको निर्मला कोभेन्ट स्कुलमा भर्ना भइन् । त्यसैगरी उनले महाजन पीयू मैसुर कलेजमा भर्ना भएर विज्ञान विषय पनि पढिन् । 

१९९२ पछि भने उनले आफ्नो यात्रा अर्थशास्त्रतर्फ मोड्दै लेडी श्रीराम कलेजबाट स्नातक गरिन् र १९९४ मा दिल्ली स्कुल अफ इकोनोमिक्स बाट स्नातकोत्तरको सर्टिफिकेट लिइन् । आफ्नो उद्देश्यप्रति समर्पित उनले १९९६ मा फेरि वासिङ्गटन विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री लिइन् । अध्ययनको यात्रामा उनी २००१ मा प्रिन्सटन विश्वविद्यालबाट विद्यावारिधि गरिन् । 

विद्यावारिधिका लागि उनको सुपरभाइजर थिए, अमेरिकाका पूर्व गभर्नर वेन वेनर्की तथा आईएमएफका पूर्व मुख्य अर्थशास्त्री केनिथ रोगफ । गोपिनाथले हार्वड विश्वविद्यालय जानुअघि २००१ मा सिकागो विश्वविद्यालयमा सह–प्राध्यापकको रुपमा अध्यापन गराइन् । हार्वर्डले उनलाई सो विश्वविद्यालयको टेनिर्योड प्रोफेसरको रुपमा नियुक्त गर्याे ।

निर्योड प्रोफेसरहरुले अपवाद बाहेक अनन्त कालसम्मका लागि नियुक्ति पाएका हुन्छन् । सो पदको स्थापना स्कलरहरुलाई विभिन्न विचारमा अनुसन्धान गर्नका लागि प्रबन्ध गरिदिएको हुन्छ । सैद्धान्तिक रुपमा यस पदको मान्यता एकडेमिक स्वतन्त्रता दिनु हो । जसको अनुसन्धानले समाजलाई दीर्घकालीन रुपमा फाइदा गर्छ । 

उनी हार्वडको अर्थशास्त्र विभागमा स्थायी मान्यता पाउने महिला मध्य तेस्रो र अमर्त्य सेनपछि दोस्रो भारतीय भएकी छन् । २०१६ मा उनले केरलाका मुख्य मन्त्री पिनाराय विजयनको वित्त सल्लाहकारको रुपमा पनि काम गरिन् ।

पेनलोपी कोजियानौ गोल्डवर्ग 

जब गोल्डवर्ग विश्व बैंकको प्रमुख अर्थशास्त्रीको रुपमा नियुक्त भइन् उनी विश्व बैंककी दोस्रो र ग्रीसकी पहिलो अर्थशास्त्र बनिन् । द नेशनल हेराल्डको एक रिर्पोट अनुसार उनीलाई विश्व बैंकले इन्टर्नसिप दिन पनि अस्वीकार गरेको थियो । विश्व बैंकले उनलाई विद्यावारिधि नगरेसम्म स्वीकार नगर्ने जवाफ पठाएको थियो । त्यसैले उनी विधावारीधि गर्न अमेरिका जान बाध्य भइन् । 

१९६३ मा एथेन्समा जन्मेकी उनी त्यहाँको जर्मन हाइस्कुलमा पढिन् । त्यसपछि उनले फ्रेइवर्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा डिप्लोमा गरिन् ।

उनले अमेरिकाको स्टयान्डर्ड विश्वविद्यालयबाट विद्यावरिधि गरेकी छन् । गोल्डबर्गले आफ्नो प्राज्ञिक क्षेत्रको करियर समाजको लागी अर्थ सम्बन्धमा धेरै महत्वपूर्ण भूमिका निभाएकी छन् । यति मात्र नभएर उनले प्रिन्स्टन र कोलम्बियामा अर्शशास्त्र विभागमा पनि काम गरिसकेकी छन् । 

२०११ देखि २०१७ सम्म उनी अमेरिकाको प्रतिष्ठित आर्थिक जर्नल द अमेरिकन इकोनोमिक रिभ्यूको प्रधान सम्पादक रहेकी थिइन् । यस जर्नलमा काम गर्न सक्ने विश्व भरिनै केही बौद्धिक व्यक्ति मात्र हुन्छन् ।

उनी अमेरिकन एकेडेमी अफ आर्ट एण्ड साइन्सको सदस्य हुन् भने उनले गूजेनहेम मेमोरियल फाउन्डेसन र स्लोन रिर्सच फेलोसिप पाइसकेकी छन् । त्यसैगरि उनले समाजिक विज्ञानमा बोडोसाकी मेमोरियल पुरस्कार पनि जितिसकेकी छन् ।

बेटा जेभोरसिक

जब युरोपियन बैंकले जेभोरसिकलाई नियुक्त ग¥यो । बैंकले इतिहासकै पहिलो महिला अर्थशास्त्री प्राप्त गरेको थियो । 

पोल्याडकी जेभोरसिकले येल विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । उनी अक्फोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रको स्टयाचूटरि प्रोफेसरसिप पाउने पहिलो महिला हुन् । अक्सर्फोर्ड जानुअघि उनले विश्व बैंकमा काम गरेकी थिइन् ।

उनी क्वाटर्ली इकोनोमिक पोलिसीको प्रबन्ध सम्पादक हुन । त्यसैगरी लन्डनको सेन्टर फर इकोनोमिक पोलिसी रिसर्चको अन्तर्राष्ट्रिय व्यापार कार्यक्रमको निर्देशकको अलावा रोयल इकोनोमिक सोसाइटीको कार्यसमिति सदस्य पनि हुन । 

लरेन्स बोन

उनी अर्गनाइजेसन फर इकोनोमिक को–अपेरेसन एण्ड डेभलपमेन्टकी प्रमुख अर्थशास्त्री हुन् । त्यहाँ उनले १९९८ बाट २००४ सम्म काम पनि गरकी थिइन् । उनले लन्डन बिजनेस स्कूलबाट  एप्लाइड इकोनोमिक्समा विद्यावारिधि गरिन् र मेरिल लिन्च एसेट म्यानेजमेन्टबाट आफ्नो पेसा सुरु गरेकी थिइन् । 

 

उनले रिडिङ्ग विश्वविद्यालयबाट इकोमेट्रिक एण्ड म्याक्रोइकोनोमिक मोडलिङमा एक स्नातक गरेकी छन् भने पेरिस–एक्स न्यानटेरी विश्वविद्यालयबाट अर्को स्नातक गरेकी छन् । 

त्यसैगरी उनले फ्रान्सको बार्सिलेज क्यापिटलमा प्रमुख अर्थशास्त्री र बैंक अफ अमेरिका म्यारी लिन्चको प्रमुख अर्थशास्त्री जस्तो प्रमुख पदहरु सम्हालिसकेकी छन् । कौशलताकी धनी उनलाई फ्रान्सका पूर्व राष्ट्रपति फ्रान्सवा होलान्डले २०१४ बाट २०१६ सम्म आफ्ना सल्लाहकार नियुक्त गरेका थिए । (एजेन्सीहरुकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस