_20210227172650.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन् । उनले भने–‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढि सांसद छन् ।’
प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाइ जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाई छ । सर्वोच्च अदालतले पुष ११ गते प्रतिनिधिसभा पूनःस्थापना गरेको फैसलालाई आफूहरुले सम्मान गर्ने पनि उनले सुनाए । उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिश गरिसकेको जनाए ।
संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाए । उनले आफूहरुले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए । तर, चितवनको सभास्थल छोडेर काठमाडौं आएका दाहाल–नेपाल हस्याङफस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गरे । उनले प्रचण्ड र माधव नेपाललाई पनि अहिलेपनि सच्चिने ठाउँ रहेको सुनाए । तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका छन् । उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्विकार गर्नुपर्ने उनले धारणा राखे ।
संसदको अधिवशेन (फागुन २३) गते अघि नै आफूहरुको संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए । उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उनले आग्रह गरे । तत्काल नआएपनि केही नगर्ने उनले जनाए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए ।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे । उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे । तर, अहिले नेकपा नफुटेकोले आफूहरुसँग नै एकल बहुमत रहेको भट्टाईको जिकिर छ । उनले भने,‘अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन् ।’
निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए । उनले भने,‘केही साथीहरु बाहिर जानुभएको छ, उहाँहरु पनि आउनुहुन्छ ।’ एमसीसीको सवालमा प्रधानमन्त्री ओली पक्षमा नै रहेको उनले सुनाए । तर, प्रचण्डले बाहिर विरोध गरेकोजस्तो गर्ने तर एमसीसीको विरोधमा नारा लाग्दा आँफैले रोकेको पनि उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस