
काठमाडौं । सामाजिक सुरक्षा कोषले २०७६ असोजमा रुपेन्द्र थापाको दुर्घटनाबाट निधन भएपछि पहिलो पटक उनको परिवारलाई रकम भुक्तनी गरेको थियोे । २०७६ मंसिरमा कोषको वार्षिक उत्सवको अवसरमा रुपेन्द्रकी धर्मपत्नीलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत सुविधा उपलब्ध गराएको थियो । त्यसयता कोषले २ हजार एक सय ५३ जना योगदानकर्ता तथा उनीहरूमा आश्रित परिवारलाई विभिन्न योजनामार्फत ३ करोड ८९ लाख रुपैयाँ सामाजिक सुरक्षा कोषमा योगदान गरे वापत पाउने सुविधा रकम भुक्तानी गरिसकेको छ । कोषले उपलब्ध गराएको विभिन्न योजनामध्ये औषधि उपचार तथा मातृत्व सुरक्षा योजनाबाट सबैभन्दा बढी लाभान्वित भएका छन् ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी योजनाअन्तर्गत २ करोड २४ लाख रुपैयाँ भुक्तान गरेको छ भने वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ । कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १७ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको हो भने आश्रित परिवार सुरक्षा योजना ३१ लाख १६ हजार रुपैयाँ योगदानकर्ताका परिवारलाई सुविधा अन्तर्गतको रकम भुक्तानी गरेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । ‘हामीले यो अवधिमा धेरै योगदानकर्तालाई सुविधा दिइसकेका छौं,’ उनले भने ‘ सुविधा लिने र सूचीर्कत हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।’
दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत कोषले ५० जनालाई ९ लाख ४२ हजार औषधि उपचार गर्न खर्च दिएको हो भने अस्थायी प्रकृतिको अपांङता भएका ३० जनालाई ५ लाख ३९ हजार योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गतको सुविधा उपलब्ध गराएको हो । अन्य दुर्घटना परेका योगदानकर्तालाई कोषले २ लाख ५७ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
अरु कोषहरुमा दुर्घटनाबाट मृत्यु भएमा एकमुष्ट २ लाख रुपैयाँ क्षतिपुर्ति दिने व्यवस्था छ । तर, ती कोषहरुमा दुर्घटनाको उपचार गर्नको लागि छुट्टै व्यवस्था छैन । ‘हाम्रोमा कामको शिलशिलामा दुर्घटना भयो भने सम्पूर्ण उपचार खर्च हामी व्यहोर्छौं, त्यसको कुनै सीमा नै हुँदैन, उनले भने ‘कार्यक्षेत्र बाहेकको दुर्घटनामा पनि ७ लाखसम्मको उपचार खर्च व्यहोर्ने गरेका छौं ।
कुनै मान्छे दुर्घटनाको कारणले स्थायी रुपमा अशक्त भयो भने अरु कोषमा कुनै व्यवस्था छैन । हामीकहाँ दुर्घटनाको कारणले योगदानकर्ता स्थायी रुपमा अशक्त भयो भने उसले आधारभूत तलबको ६० प्रतिशत जीवनभर पेन्सनको रुपमा पाउँछ ।
कोषले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत उपलब्ध गराएको रकममध्ये आश्रित परिवारको लागि ४ लाख ६१ हजार रुपैयाँ उपलब्ध गराएको छ भने आश्रित परिवारको एक बालकको अध्ययन खर्चको लागि १ लाख ८६ हजार रुपैयाँ भुक्तान गराएको छ भने दुई जना बच्चाको अध्ययनको लागि ८ दाख १८ हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै योगदान कर्ताको अन्त्येष्टी खर्चको लागि ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । योगदान कर्जाको श्रीमती÷श्रीमान्लाई ११ लाख ४९ हजार पेन्सन स्वरुप भुक्तान गरेको छ ।
मातृत्व सुरक्षा ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने सो प्रयोजनका लागि ओपीडीमा ५ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरिएको छ । मातृत्व आईडीपीमा २९ लाख १२ हजार भुक्तान गरिसकेको कोषको तथ्यांक छ । समग्रमा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत अहिलेसम्म दुई करोड २४ लाख रुपैयाँ खर्च गरेको छ । त्यसरी नै वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योजनामा सहभागी हुनेलाई एक करोड १७ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस