aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली

  • रासस
    रासस
  • आइतबार, १६ फागुन २०७७
गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् । उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्ताले स्वागत गरेका हुन् । 

प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्ने बताइएको छ । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिएका छन् ।  

त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटि शिलान्यास गर्नुहुने थापाले बताए । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम छ । 

कमल खोलाको पुल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस