
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।
कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए। उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’
कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा। उप्रेतीले बताए। ‘पहिलो मात्रा लगाएको खोपले १२ सातासम्म काम गर्छ’, उनले भने, ‘दोस्रो डोज लगाएको दुई डोज दिइसकेपछि ८ हप्तादेखि १२ हप्तासम्म मात्र प्रभावकारिता रहन्छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले खोप लगाए पनि ढुक्क नहुन आग्रह गरे। उनले भने, ‘खोप लगाएपछि एन्टिबडी बन्छ। दोस्रो मात्रा लगाएको दुई सातापछि मात्र खोपको प्रभावकारिता ७० प्रतिशतभन्दा बढी हुन्छ। ढुक्क हुनु हुँदैन।’
कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ। ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाएका थिए।
खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताए। उनले भने, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ।’ दवाडी अहिले होम आइसोलेसनमा छन्। उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको बताए।
प्रतिक्रिया दिनुहोस