aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण वैशाखबाट

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, १८ फागुन २०७७
अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण वैशाखबाट

बारा । नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको सम्पूर्ण अध्ययन कार्य सम्पन्न गरेसँगै पाइपलाइन निर्माण वैशाखदेखि सुरु हुने भएको छ । 

नेपाल आयल निगम ९एनओसी० र भारतीय आयल निगम (आईओसी)को संयुक्त कार्यदलले अनुमानित लागतबारे टुंगो लगाउने र नेपाल भारत सरकारबीच हुने आपसी छलफल र समझदारीपछि निर्माण सुरु हुने भएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले डिटेल प्रोजेट रिपोर्ट तयार भइसकेको र सञ्चालक समितिको आगामी बैठकले गर्ने नीतिगत निर्णयसँगै आयोजनाको काम सहज रुपमा अघि बढ्ने बताए ।

निगमका अनुसार दस अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पाइपलाइनको संयुक्त कार्यदलले लागत यकिन गरेपछि प्रशासनिक काम सँगै दुवै देशले लगानीको टुंगो लगाएपछि आयोजनाको निर्माण थालिनेछ । एनओसी र आईओसीको संयुक्त कार्यदलमा नेपालका तर्फबाट निगमका निर्देशक वीरेन्द्र गोइत र आईओसीको तर्फबाट आरबी कोठारी रहेका छन् ।

भारत सरकारले यसअघि निर्माण सम्पन्न गरेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सफलतासँगै संघीय सरकारको प्राथमिकतामा रहेको अमलेखगञ्ज–चितवन पाइपलाइन विस्तारमा भारत सरकारको पूर्ण सहयोग रहने विश्वास गरिएको छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइपलाइनलाई यसअघि सम्पन्न मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले डिपोको लेआउट समेत सम्पन्न भइसकेको र थप विषयमा सञ्चालक समितिले निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस