
काठमाडौं । हवाई उडानको भाडा बढ्ने भएको छ । पछिल्लोपटक भाडादर समायोजन भएको दुई साता नबित्दै फेरि भाडादर वृद्धि गर्ने तयारी गरिएको हो । भाडादर वृद्धिका लागि एयरलाइन्स अपरेटर्स एशोसिएसन अफ नेपाल (आन) ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा प्रस्ताव पठाउने तयारी गरेको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा एकैपटक ५ रुपैयाँ बढाएपछि एशोसिएसनले फेरि भाडा वृद्धि गर्नुपर्ने प्रस्ताव गर्न लागेको आनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । सोमबार राती १२ बजेदेखि लागु हुनेगरी हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले आन्तरिक हवाई इन्धनको मूल्य बढाएको थियो ।
अहिलेको व्यवस्था अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको ४८ घण्टाभित्र एशोसिएसनले क्यानलाई नयाँ मूल्य कायम गर्न प्रस्ताव गर्नु पर्नेछ । त्यसको २४ घण्टाभित्र क्यानले नयाँ भाडादर लागु गर्नुपर्छ । प्रवक्ता कँडेल आफूहरु भने आजै प्राधिकरण जाने तयारी गरेको बताउँछन् ।
‘पेट्रोलियम पदार्थको मूल्य बढेको ४८ घण्टाभित्र हामीले क्यानमा मूल्य समायोजन गर्न प्रस्ताव गर्नुपर्छ । तर हामी आजै जाँदैछौं’, कँडेलले भने, ‘इन्धनको मूल्य बढ्दा भाडादर बढ्नु स्वभाविकै हो । भोलि मूल्य घट्यो भने पनि हामी तत्कालै घटाउँछौं ।’
यद्यपि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने भए पनि यो मूल्यभन्दा कम दरमा बढ्ने उनले बताए । हामीले भाडादर निर्धारण गर्दा विभिन्न लागतलाई हेरेका हुन्छौं । त्यसमा इन्धनको मूल्य जति बढ्छ, त्यति नै भाडा बढ्ने भन्ने हुँदैन । इन्धनको लागतका आधारमा मात्रै भाडा बढ्छ,’ कँडेलले भने । उनले आनले गरेको भाडादर प्रस्तावबारे चाहिँ केही बताएनन् । ‘हामीले प्रस्ताव मात्रै गर्ने र क्यानले अन्तिम निर्णय गर्ने भएकोले यो परिवर्तन पनि हुन सक्छ। त्यसैले अहिले नै यति बढ्छ भन्न सकिँदैन’ उनले भने ।
एयरलाइन्सको भाडादर दुई साता अघि मात्रै बढेको थियो । अहिले फेरि मूल्य बढ्न लागेको हो । आयल निगमले अन्तराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै पेट्रोयिम पदार्थको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा देखिएको हो ।
प्रतिक्रिया दिनुहोस