aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

छडको मूल्य बढ्दो क्रममा

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, १९ फागुन २०७७
छडको मूल्य बढ्दो क्रममा

काठमाडौं । सिमेन्ट र छड उद्योगको उत्पादन क्षमता वृद्धि र खपत पनि सकारात्मक भएका बेला छडको मूल्य बढ्दो क्रममा रहेको छ । गत मङ्सिरमा प्रतिकेजी रू। १५ देखि रू. २० सम्म वृद्धि भएको फलामे छडको मूल्यमा हाल प्रतिकेजी रू।३ देखि रू। ४ सम्म बढेको हो । अर्को मुख्य निर्माण सामग्री सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।

विगत २ हप्तादेखि छडको मूल्यमा पुनः वृद्धि हुन थालेका छड उत्पादक तथा विक्रेताहरू बताउँछन् । छड उत्पादक कम्पनीहरूले मंगलवारमात्रै छडको औसत मूल्य भ्याटसहित प्रतिकेजी रू। ७४ मा विक्री गरेका छन् । यो मूल्य पुनः बढ्न सक्ने उनीहरूको भनाइ छ । उपभोक्ताले किन्ने मूल्यमा भने ढुवानी खर्च तथा अन्य खर्च पनि जोडिने हुँदा यसको बजार मूल्य बढी हुने लक्ष्मी स्टील्स्का एक अधिकारीले बताए ।

उनका अनुसार ३ हप्ताअघि यसको मूल्य प्रतिकेजी ७० सम्म झरेको थियो । अहिले अन्तरराष्ट्रिय बजारमै कच्चा पदार्थ बिलेटको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको मूल्य दिनप्रतिदिन वृद्धि भएको हो ।

नेपालमा सिमेन्ट तथा यसको कच्चा पदार्थ नै उत्पादन हुने भएकाले यसको मूल्यमा खासै उतारचढाव नआउने भए पनि छडको कच्चा पदार्थ विलेट भारतलगायत देशबाट आयात गर्नुपर्ने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढ्दा नेपालमा पनि स्वतः मूल्य बढ्ने गरेको उत्पादकहरू बताउँछन् ।

केही समययता छडको मूल्य घटेको भए पनि अहिले बिलेटकै मूल्य बढी भएकाले यसको मूल्य थप बढ्न सक्ने एक उत्पादकले बताए । उनका अनुसार डलरको मूल्य बढेको र कच्चा पदार्थको मूल्य पनि बढेको हुँदा आगामी हप्तासम्म छडको मूल्य थप बढ्ने देखिएको छ । छड उत्पादकहरूले आइतवारसम्म बिलेट आयात गर्दा प्रतिटन ५२५ अमेरिकी डलर तिर्नु परेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस