
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रसेवकको तलव बृद्धि हुँदैमा बजारभाउ बढ्ने कुरा कुनै सिद्धान्तसंग मेल नखाने भन्दै आपूर्ति व्यवस्थामै समस्या भएकाले अनावश्यक मूल्यबृद्धि भइरहेको जिकिर गरे ।
वैदेशिक ऋणबारे धेरै चिन्ता नगर्न सांसदहरुलाई आग्रहसमेत गरेका छन् । अर्थ मन्त्रालय शीर्षकमा विनियोजन विधेयकको छलफलमा प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक ऋण राष्ट्रिय उत्पादन, उत्पादकत्व बृद्धि र विकासमा खर्च हुने भएकाले चिन्ता लिन आवश्यक नभएको बताए ।
अर्थमन्त्री खतिवडाले भूकम्पपछि पुनःनिर्माणका लागि ठुलो मात्रामा बैदेशिक ऋण लिएको भए पनि तिर्ने क्षमताको विकास गरिसकेको दाबी गरे ।
वित्त आयोगले तय गरेको सूत्रअनुरुप बजेट विनियोजन गरिएकाले सन्तुलित रहेको उनको भनाइ थियो । यस्तै,वन मन्त्रालय शीर्षकमा विनियोजित बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वनमन्त्री शक्तिबहादुर बस्नेतले वनको बहुउपयोगि नीति र वन व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।
चुरे क्षेत्रको संरक्षण, बृक्षारोपण र हरियो वन जनताको धन बनाउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनको भनाइ थियो । यस्तै,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय शीर्षकमा विनियोजित विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थममाया थापाले महिलाको सामाजिक तथा आर्थिक विकास, सामाजिक कुरिति, अपाङ्गमैत्री पूर्वाधार निर्माण र जेष्ठ नागरिकको हकअधिकारलाई सुनिश्चित गर्ने योजना रहेको जानकारी दिइन ।
बैठकमा कृषि तथा पशुपंक्षि विकास, संघीय मामिला तथा सामान्य प्रशासन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकमा विनियोजन गरिएको बजेटमाथि उठेका प्रश्नको सम्बन्धित विभागीय मन्त्रीले जवाफ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस