aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

विद्युतीय भुक्तानीमा रकमको सीमा दोब्बर

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, २० फागुन २०७७
विद्युतीय भुक्तानीमा रकमको सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीमा रकमको सीमा दोब्बर बनाएको छ । विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नका लागि भुक्तानीको सीमा बढाइएको हो ।

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै सर्वसाधारणले मोबाइल बैंकिङबाट दैनिक २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट बिल भुक्तानी वा एकाउन्ट ट्रान्सफरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न सकिने व्यवस्था थियो । यसैगरी इन्टरनेट बैंकिङबाट प्रतिदिन १० लाखसम्म र बिल भुक्तानीका लागि मासिक ३० लाख तथा एकाउन्ट ट्रान्सफर गर्दा मासिक ५० लाखसम्म कारोबार गर्न सकिने गरी सीमा तोकिएको थियो ।

केन्द्रीय बैंकले मासिक कारोबार सीमा हटाएर दैनिक कारोबार सीमालाई भने दोब्बर बनाएको हो । कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, सरकारी कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्दा र विद्युत, दूरसञ्चार, खानेपानी, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्दा तोकिएको सीमा लागू नहुने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस