काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘एकता प्रक्रिया अलिकति ढिला भएकै हो । ढिला हुनुपनि स्वभाविक नै हो । दुई ठूला भिन्न भिन्न पार्टी मिल्ने कुरा सजिलो थिएन् । हामीले एकताको अत्यधिक काम पूरा गरिसकेका छौं । अब जनवर्गीय र स्थानीय तहको हकमा नेतृत्व टुँगो लगाउने काम बाँकी छ । त्यो पनि टुँगो लगाउनेगरि शीर्ष तहमा गम्भिरतापूर्वक छलफल भैरहेको छ ।’
रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरे । उनले भने,‘जनताका अपेक्षाहरु धेरै छन् । सरकारले काम गरिरहेको छ । यो सरकार पूरानो संरचनाको सरकार होईन । सरकारले राष्ट्र निर्माणको ठूलो बहस छेडेको छ । भाषण र सपना देख्नु नराम्रो होईन । यो त बुझाउने कुरा हो । यो त अभ्यासपनि हो । यो अर्थमा सरकार काफी मात्रामा सफल भएको छ ।’
नेता रायमाझीले वर्तमान सरकारले हिजोसम्म व्याप्त रहेका माफीयागिरी, अपराधिक घट्नाक्रमहरुको पर्दाफास भएको जिकिर गरे । उनले भने,‘यी सबै गलत कुरालाई सतहमा ल्याउन वर्तमान सरकार सफल भएको छ । हिजोसम्म यी विषयहरुमा ढाकछोप गर्ने काम भएका थिए । तर, यो सरकारले अहिले सतहमा ल्याएको छ । अब जनताको चाहनाबमोजिम कारबाही हुन्छ । सरकारले उपचार गर्छ ।’
सरकार असफल भयो भन्ने कुरामा आफूले विश्वास नगर्ने उनको दाबी छ । उनले भने,‘सरकारले योजना, बजेट र अधिकार संविधानअनुसार नै बाँडफाँड गरिरहेको छ । ती तहका सरकारहरु छन्, अब जनतालाई रिजल्ट दिनेगरि काम गर्छन् ।’
वर्तमान सरकारले विकास र समृद्धिको रोडम्याप अघि सारेकोले सो लक्ष्य छिट्टै पूरा हुने उनको दाबी छ । उनले भने,‘सरकारको मुल्यांकन त अब नयाँ बजेट ल्याएपछि सुरु हुन्छ । अब समृद्धिको पाईला कसरी चाल्छ रु त्यो हेर्न बाँकी छ । अनिमात्रै, सरकारको मुल्यांकन यो आर्थिक वर्षको अन्तिमबाट सुरु हुन्छ ।’
फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको जिकिर गरे । उनले भने,‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन् । प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन् । यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन् ।’
कांग्रेसको राष्ट्रिय जागरण अभियानबारे टिप्पणी गर्दै रायमाझीले भने,‘कांग्रेसको जागरण अभियान एक अर्कालाई खुईल्याउने काम हुनेछ ।’ उनले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताको टेबुलमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले दमन गर्नुहुँदैन् । उनीहरुलाई पनि वार्ता तथा सहमतिको माध्यमबाट राष्ट्रिय राजनीतिमा ल्याउनुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै ठोस उपलब्धि देखाउन सकेको छैन् । यो सरकार काम गर्न भन्दापनि गफ र भाषणमा धेरै सफल भएको छ । यथार्थमा यसले जनतामा कुनै अनुभुति हुने काम गरेको छैन् ।’
नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे । उनले भने,‘अपराध न्यूनिकरण गर्ने र अमनचयन कायम गर्न सरकार असफल भयो ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको आरोप छ ।
उनले भने,‘एकपछि अर्को आयोग बनाउने काम गर्यो, तर आयोगले बुझाएका प्रतिवेदन निबन्धजस्तो मात्रै भयो । सरकार आफ्नो दायित्वबाट पूर्ण रुपमा च्यूत भयो ।’
विकास निर्माणको सवालमा पनि सरकार असफल भएको उनको आरोप छ । लेखकले थपे,‘हिजो अघि बढेका योजनाहरु अहिले रोकिएका छन् । ७ नम्बर प्रदेशको कुरा गर्नुहुन्छ भने हिजोका सम्पूर्ण योजनाहरु अहिले बन्द भएका छन् । कुनै पनि योजना अघि बढेका छैनन् ।’
विकासको गति नै अहिले शून्यमा रहेको उनको दाबी छ । उनले भने,‘पुँजीगत खर्च हुनै सकेको छैन् । यसमा त सरकार सर्वाधिक रुपमा असफल भएको छ ।’ उनले चीनबाट र भारतबाट रेल आउँछ भनेर सरकारले जनतालाई कल्पनामा बगाउने काम गरेको पनि आरोप लगाए । उनले भने,‘भारत र चीनबाट कति वर्षमा रेल आउँछ भन्ने कुरा हामीलाई पनि थाहा छ, यो सरकारसँग कुनै तथ्य र तथ्यांक छ त रु तर, यहाँ त भोलि विहानै काठमाडौंमा रेल आउँछ जसरी भाषण गर्ने काम भैरहेको छ ।’
वर्तमान सरकारले पत्रकारिता, अदालतलगायतका महत्वपूर्ण क्षेत्रमा धावा बोल्ने काम गरेको पनि उनको आरोप छ । उनले भने,‘यो सरकारले सर्वसत्तावादी चरित्र देखाईरहेको छ । महत्वपूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने र सबै अंगलाई आफ्नो कब्जामा राख्ने काम गरिरहेको छ ।’
एकपछि अर्कोगरि भ्रष्टाचारका कुरा बाहिरिँदा पनि वर्तमान सरकार निरीह बनेको उनको अर्को आरोप छ । उनले भने,‘यो एक वर्षमा सरकार पूर्ण रुपमा असफल भएको छ । भाषण र उखान टुक्कामा अत्यधिक सफल तर, काममा अत्यधिक असफल भएको छ ।’
आफ्नो पार्टीभित्रको आन्तरिक कुरामा टिप्पणी गर्दै नेता लेखकले कांग्रेसमा अहिले समस्या र जटिलताहरु रहेको स्विकार गरे । उनले भने,‘कांग्रेसले प्रतिपक्षीको भूमिका पनि राम्रोसँग निर्वाह गर्न सकेन । हामीले यो कुरा स्विकार्नैपर्छ । हामी आफ्नो भूमिका र जिम्मेवारीमा शतप्रतिशत हिँड्न नसकेकै हो ।’
संघीय संसदमा र प्रदेश दुवैमा आफूहरुको उपस्थिति कमजोर भएकोले आवाज पनि कमजोर बनेको उनको स्पष्टोक्ति थियो । पार्टीले बैशाख ११ गतेबाट ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको जनाउँदै उनले उक्त अभियान सफल हुने विश्वास दिलाए ।
उनले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारे । उनले भने,‘कांग्रेस सरकार ढाल्ने खेलमा लाग्दैन् । यो सरकार त फर्सी आँफै कुहिएर झरेजस्तो अवस्थामा छ । यो सरकार जाते जाते कहीँ व्यवस्था नै लग्ने त होईन भन्ने चाहीँ हामीलाई चिन्ता छ ।’
सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।
महासचिव यादवले पीडित परिवारको दुःख, कष्ट निवारणमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने ध्यानाकार्षण गराए । उनले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने,‘भ्रष्टाचारी, कमिशनखोर, अपराधीलाई सरकारले पत्ता लगाउनुपर्छ । अहिले चर्चामा आएका भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ । भ्रष्टाचारीहरुलाई खोजी खोजी कानूनी कठघरामा उभ्याउनुपर्छ ।’
वर्तमान सरकार गठन भएको परिस्थितिको बारेमा उल्लेख गर्दै यादवले भने,‘विगत तीन वर्षमा नभएका काम यो सरकारले गरेको छ । संविधानले परिकल्पना गरेबमोजिम ऐन, कानूनहरु आएका छन् ।’
सरकारले जनताको हितमा काम गरिराखेको पनि जिकिर गरे । यद्धपी जनताले अपेक्षा गरेबमोजिम सरकारले काम गर्न नसकेको उनको स्विकारोक्ति थियो । उनले भने,‘सरकारको कामको गति बढेको छैन् । अब यसतर्फ पनि सोच्नुपर्छ ।’ विगतको तुलनामा भ्रष्टाचार झनै बढेको उनको आरोप छ ।
कर्मचारीतन्त्र विगतझैं रहेको र उनीहरुको काम गर्ने शैलीमा कुनै परिवर्तन नआएको पनि यादवले टिप्पणी गरे । उनले भने,‘यसलाई पनि सरकारले सधार्नुपर्छ ।’
यादवले सरकारले विगतमा आफूहरुसँग गरेका सहमति तथा सम्झौताहरु कार्यान्वयन नगरेकोमा भने आक्रोश पोखे । उनले भने,‘संविधान संशोधन गर्न यो सरकार संवेदनशील बनेन । सरकार अझैपनि सहमति कार्यान्वयन गरेर जाओस् भन्ने नै हामी चाहन्छौं । आउने संसद–अधिवेशनमा संशोधन प्रस्तुत भएन भने हामी सरकारमा टाँसिरहँदैनौं । सरकारबाट बाहिरिन्छौं ।’
संविधान संशोधन गर्नको लागि दुई तिहाई बहुमत चाहिने भएकोले आफूहरु सरकारमा सहभागी भएको उनको जिकिर छ । संविधान संशोधनको लागि अब धेरै कुर्ने बेला नभएको उनले जिकिर गरे ।
संविधान र संघीयताको मर्मअनुसार प्रदेश तथा स्थानीय तहलाई अधिकार नदिएको उनको आरोप छ । उनले भने,‘प्रदेशलाई अधिकारविहीन बनाईएको छ । विकास निर्माणका कामहरु भएका छैनन् । त्यसैले प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस