aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन दिन देशभर भारी वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
तीन दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन  पश्चिमी क्षेत्रसम्म फैलिएको छ ।  पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । 

उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ । 

कँडेलका अनुसार सोमबारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । उक्त मनसुनको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले बाढीपहिरोे आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ । 

राति देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ  ।  

मङ्गलबार देशको मध्य पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै हिजो सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३९ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस