काठमाडौं । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको प्रहरीको रासन भत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ ।
‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’
प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ ।
तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो । राशन वृद्धि भएपछि प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् । तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो ।
उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् । त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन् ।
ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए । उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ ।
नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भए पनि सशस्त्र प्रहरी बलमा अन्योल छ । सशस्त्रलाई पुरानै रेटअनुसारको मात्र बजेट विनियोजन भएको छ । रासनभत्ता सममामयिक बनाउन प्रस्ताव गरिएको, तर त्यसबारे कुनै निर्णय भइनसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । ‘पुरानै हिसाबले बजेट आएको छ, तर बढाउन प्रयास भइरहेको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस