
काठमाडौं । आफूले बेच्दा लागत पनि नउठ्ने भाउमा अन्डा दिएर खुद्रा बिक्रीमा मनपरी भएको देख्दा काभ्रेको बनेपा–३ नालासुमाराका रत्नप्रसाद दाहाललाई दिक्क लाग्छ । डेढ दशकदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका उनको ४ वटा फार्ममा १० हजार लेयर्स छन् । दैनिक ८ हजार ४ सयवटा अन्डा उत्पादन हुन्छ ।
बेच्नु परिरहेको भाउबाट उनी सन्तुष्ट छैनन् । ‘अन्डाको भाउ डामाडोल छ,’ बिक्रीका लागि क्रेटमा अन्डा राख्दै गर्दा भेटिएका उनले भने, ‘घाटा सहेर बेच्नुपरिरहेको छ ।’ शनिबारबाट दानाको मूल्य बढेपछि झन् तनाव थपिएको उनले दुःखेसो पोखे ।
१० रोपनी जग्गामा लेयर्स पालेका उनलाई ठूलो समस्या अन्डा उत्पादकले लागत नै उठाउन मुस्किल पर्ने बजार भाउको छ । फार्मबाट बेच्दा हातमा प्रतिगोटा अन्डाको ७ रुपैयाँ २१ पैसा पर्छ । ‘यो भाउले लागत नै उठदैन,’ उनले भने, ‘एउटा कुखराबाट अन्डा उत्पादन गर्न १० रुपैयाँ लगानी लाग्छ ।’ सानो अन्डा प्रतिगोटा ५ रुपैयाँमा बिक्री हुने गरेको छ ।
‘हामीले घाटा सहेर दिएको मूल्यअनुसार उपभोक्ताले अन्डा लिन पाए बरु सन्तोक हुन्थ्यो,’ उनले भने, ‘न हामीले भाउ पाएका छौं, न उपभोक्ताले सस्तोमा खान पाएका छन् । नाफा जति सबै बिचौलियाले खान्छन् ।’ ७ क्रेटमा २ सय १० वटा अन्डा भएको बक्सा २ हजार ५० रुपैयाँसम्म बिक्री हुने गरेको थियो । अहिले ठूलो अन्डा बक्साको १५ सय र सानो अन्डा १ हजारमा बिक्री हुने गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस