aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सर्वसाधारणको हातमा ५ खर्ब २३ अर्ब रूपैयाँ, लकडाउनपछि नगद राख्ने बढे

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २५ फागुन २०७७
सर्वसाधारणको हातमा ५ खर्ब २३ अर्ब रूपैयाँ, लकडाउनपछि नगद राख्ने बढे

काठमाडौं । कोभिड–१९ को जोखिमबाट बच्न गत चैतदेखि सरकारले लकडाउन गरेपछि सर्वसाधारणमा नगद पैसा आफूसँगै राख्ने प्रवृत्ति बढेको देखिएको छ । लकडाउनका बेला हिँडडुलमा समस्या भएको, प्रायः बैंक तथा वित्तीय संस्था बन्द रहेकोलगायत कारण नागरिकले आफूसँगै नगद राख्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् ।

अहिले कोभिड संक्रमण दर घट्दै गएको छ । तर नागरिकसमक्ष नगद रूपमा रहेको पैसा वित्तीय प्रणालीमा फर्किसकेको छैन । यही कारण सर्वसाधारणसँग रहेको मुद्रा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत पुससम्म मुलुकभर ५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको मुद्रा नागरिकसँग छ । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई नागरिकसँग रहेको रकम ९करेन्सी हेल्ड बाई पब्लिक० भनिन्छ । नागरिकका साथै सहकारी, लघुवित्त वित्तीय संस्थालगायत औपचारिक र अनौपचारिक क्षेत्रमा रहेको रकमलाई नागरिकसँग रहेको पैसा मानिन्छ । आफ्नो आवश्यकता पूर्ति गर्न उक्त पैसा नागरिकले आफूसँग राख्ने भएकाले यसलाई चलनमा रहेको भनिएको हो । उक्त रकममा बैंक तथा वित्तीय संस्था ९क, ख र ग वर्गका वित्तीय संस्था० मा रहेको रकम पनि जोडेपछि चलनचल्तीमा रहेको रकम निकालिन्छ ।

नेपालमा पैसा छाप्ने र आपूर्ति गर्ने एक मात्र आधिकारिक निकाय राष्ट्र बैंक हो । यसले मुलुकको आवश्यकता र औचित्यका आधारमा पैसा छपाएर बजारमा पठाउँछ । खासगरी लकडाउनपछिका महिनामा नागरिकका हातमा रहेको नगद मुद्राको परिमाण बढ्दो छ । यसअनुसार गत चैतमा नागरिकसँग रहेको कुल मुद्रा ९चलनचल्तीमा० ४ खर्ब ५१ अर्ब रुपैयाँ थियो । अघिल्लो वर्षको चैतमा चल्तीमा रहेको मुद्रा ४ खर्ब २७ अर्ब रुपैयाँ थियो ।

गत असारमा आइपुग्दा चल्तीको मुद्रा बढेर ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । त्यसपछिका सबै महिनामा निरुन्तर बढेको यस्तो मुद्रा गत कात्तिकसम्म ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो । गत कात्तिकको तुलनामा मंसिर र पुसमा भने यस्तो मुद्रा केही घटेको छ । यसअनुसार गत मंसिरमा ५ खर्ब ३३ अर्ब र मंसिरमा ५ खर्ब २३ अर्ब रुपैयाँ चल्तीमा छ । पछिल्लो दुई महिनामा चल्तीमा रहेको मुद्राको परिमाण घट्नुलाई नागरिकसँग रहेको मुद्रा वित्तीय प्रणालीमा फर्किन थालेको रूपमा हेरिएको छ । यद्यपि कोभिडको जोखिम अझै कायमै रहेकाले नागरिकको हातमा धेरै पैसा थुप्रिएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस