aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

महिला औद्योगिक ग्राम स्थापनाको तयारी, २ वर्षभित्र सञ्चालनमा आउने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, २७ फागुन २०७७
महिला औद्योगिक ग्राम स्थापनाको तयारी, २ वर्षभित्र सञ्चालनमा आउने

काठमाडौं । सरकारले सातओटै प्रदेशका विभिन्न स्थानहरूमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापनाको तयारी शुरू भएको छ । केन्द्र र स्थानीय सरकारको सहकार्यमा उद्यमशील महिलाहरूको पहलमा काभ्रेपलाञ्चोकको पाँचखालमा ‘महिला उद्यमी हरित ग्रामीण क्षेत्र’ स्थापना गर्न लागिएको हो ।

संस्थागत रूपमा महिला उद्यमशीलता विकास गर्न नेपालमा पहिलोपटक महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो । यसका लागि विभिन्न महिला उद्यमीहरूको पहलमा पाँचखालमा ३० वर्षका लागि उक्त रोपनी जग्गा भाडामा लिइसकिएको छ । महिला उद्यमी तथा साउन एशियन वुमन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला रिजालले ग्राम स्थापनाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी शुरू भएको जानकारी दिइन् ।

२ वर्षभित्र ग्राम सञ्चालन गरिने र त्यहाँ १२ ओटा उद्योग स्थापना हुने रिजालले जानकारी दिइन् । महिलाले मात्रै सञ्चालन गर्ने  ती उद्योगहरू कृषिउपज, फलफूल उत्पादन तथा प्रशोधन लक्षित हुनेछन् । नयाँ प्रविधि ल्याउने, नयाँ तालीम, अनलाइन मार्केटिङसम्मका तालीम दिने तयारी पनि गरिएको छ । स्थानीय महिलालाई बढी प्राथमिकता दिए पनि उद्यम तथा उद्योग स्थापना गर्न चाहनेले पनि सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस