
बारा । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृहसमेत निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी)को संयुक्त प्राविधिक टोलीले यो लागत निकालेको हो ।
पाइपलाइन निर्माणका लागिमात्रै २ करोड ७४ करोड भारतीय रुपैयाँ लागत लाग्ने अध्ययनन प्रतिवेदनमा उल्लेख छ । चितवनको लोथरमा रहेको २४ बिघा जग्गामा ग्रिनफिल्ड र टर्मिनल निर्माणको लागि ६ अर्ब १८ करोड भारतीय रुपैयाँ लाग्ने प्रतिवेदनले देखाएको छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म सफलतापूर्वक पाइपलाइन विस्तार गरी डिजेल आयात गरिररहेको निगमले दोस्रो चरणमा चितवनसम्म पाइपलाइन विस्तार गर्न लागेको हो । प्राविधिक टोलीले पेट्रोलियम पाइपलाइनको अध्ययन गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
दुई देशबीच सम्झौता भएपछि दोस्रो चरणको पाइपलाइन विस्तारको काम अगाडि बढ्ने मन्त्रालयले जानकारी दिएको छ । अमलेखगन्जदेखि लोथरसम्म ६२ किलोलिटर दूरीमा पाइपलाइन विस्तार हुनेछ । अध्ययन टोलीले बुझाएको प्रतिवेदन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । मन्त्रिपरिषद्ले प्रतिवेदन स्वीकृत गरेपछि दुई देशबीच सम्झौता हुनेछ ।
यसअघि सम्पन्न मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने भएको छ । पाइपलाइनबाट ढुवानी गरिएको तेल भण्डारण गर्नका लागि लोथरमा एक लाख ३ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गरिनेछ । जसमा डिजेलका तीन, पेट्रोलका दुई, हवाई इन्धनका दुई र मटीतेलका एक गरी आठवटा ट्यांकर रहने छन् ।
प्रतिक्रिया दिनुहोस