
काठमाडौं । घरनजिकको सामुदायिक वनमा बुधबार घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा मारिएकी छन् । मधुवन नगरपालिका–३ को सम्झना सामुदायिक वनमा स्थानीय २९ वर्षीया रिना भनिने रेनुका सुनारको मृत्यु भएको हो ।
असोजयता मात्रै बाघको आक्रमणबाट यहाँ ८ जनाको मृत्यु भएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत असिम थापाले बताए । ‘दुई वर्षको बीचमा बर्दियामा १५ र बाँकेमा दुई जना गरी १७ जनाको मृत्यु भइसकेको छ,’ उनले भने । अधिकांश घटना वनमा चरीचरन र घाँसदाउरा गर्ने क्रममै भएका छन् । तीमध्ये निकुञ्जभित्रको पूर्वपश्चिम राजमार्गमा एक जना र अन्यको मध्यवर्ती र संरक्षित क्षेत्रमा मृत्यु भएको निकुञ्जले जनाएको छ ।
गेरुवा गाउँपालिकाको सरकारी सामुदायिक वन, ठाकुरबाबा र मधुवन नगरपालिकामा बाघको आक्रमणका घटना बढेको छ । यी तीनै स्थान वनको नजिक बस्ती विकास भएका क्षेत्र हुन् । बस्ती बढ्दै गए पनि वन कार्यालयले बाघको सम्भावित आक्रमणबाट बच्न स्थानीयलाई सुरक्षा सचेतनासम्बन्धी कुनै जानकारी नदिँदा घटना बढ्दै गएको मधुवन–३ का फलराम थारूले बताए । ‘बाघबाट बच्ने कुनै कार्यक्रम छैनन्,’ उनले भने, ‘जंगल छेउको बस्तीका सबै त्रसित छन् ।’
निकुञ्ज प्रशासनले समेत कुनै ध्यान नदिएको उनको गुनासो छ । नेपालसँग सीमा जोडिएको भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्जबाट बाघ बर्दियाका अन्य सामुदायिक जंगलमा पनि पस्ने गरेको छ । जिल्ला वन अधिकृत महेन्द्र वाग्लेले बाघको आक्रमण बढ्दै गएपछि क्यामेरा ट्र्यापिङ गर्दै बस्तीमा सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे । ‘बस्तीमा सुरक्षित हुन र जंगल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेका छौं,’ उनले भने, ‘तर, अटेर गरेर जाँदा ज्यान नै जाने गरेको छ ।’ बाघ पानी खोज्दै निकुञ्जबाहिरको बस्तीमा निस्कने गरेको उनले बताए । कर्णाली नदीको पूर्वी भँगालो ढुंगाले थुनिएपछि पानीको सतह घटेका कारण वन्यजन्तु बाहिर निस्कन थालेको संरक्षणकर्मीको दाबी छ ।
बाघ लजालु स्वभावको वन्यजन्तु हो । सामान्य अवस्थामा बाघले मानिसलाई आक्रमण गर्दैन । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा। रविन कडरिया बाघले आत्मरक्षाका लागि आक्रमण गर्नुअघि घुरेको जस्तो आवाज गरी चेतावनी दिने बताउँछन् । ‘बाघसँग बच्चा भएमा, सिकार गर्न लागेको अवस्थामा, मानिस खाने नरभक्षी बानी परेको भएमा पनि मानिसलाई आक्रमण गर्छ,’ उनले भने, ‘आहारा प्रजाति वा बासस्थान कम भएमा र बासस्थानमा मानिसको गतिविधि बढेमा पनि बाघले आक्रमण गर्छ ।’
वयस्क बाघले बूढो बाघलाई लखेटेर बाहिर पठाउँदै उक्त क्षेत्र कब्जा गर्ने गरेको र कुनै बाघ आपसमा जुधेर नङ्ग्रा भाँचिएपछि सजिलो आहारा मानिसलाई रोजेर मार्ने गरेको २४ वर्षदेखि बर्दिया निकुञ्जमा काम गरेका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । बर्दिया निकुञ्ज क्षेत्रमा संरक्षणका लागि खटिएका युवा संरक्षणकर्मी हेमन्त आचार्यले जंगलको सिमानामा गाई, भैंसी बाँध्नु, जंगलमा खुला चरीचरण बढ्दै जानुले पनि बाघले आक्रमण गर्ने गरेको बताए । बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले वन क्षेत्रमा घाँसदाउरा लिन नजान सबैमा आग्रह गरेको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर जंगल र निकुञ्जभित्र जान रोक लगाउने तयारी गर्दैछौं,’ उनले भने, ‘वनभित्र नरभक्षी बाघको आक्रमण बढ्दै गएकाले सबै सचेत बन्नुपर्छ ।’
एउटा वयस्क बाघलाई वार्षिक झन्डै ५०/६० वटासम्म वयस्क चित्तलको आवश्यकता हुन्छ । बर्दिया निकुञ्जमा बाघका लागि आहारा प्रशस्त छ । चारकोसे जंगल विनाश, अतिक्रमित क्षेत्रमा मानव बस्ती र कृषि भूमि बढ्दै जाँदा बाघको विचरण क्षेत्र भने खुम्चिएको छ । आफ्नो क्षेत्र अतिक्रमणमा परेपछि बाघ निकुञ्जबाहिर आउने गरेको संरक्षणकर्मीकै दाबी छ । ‘बाहिर आएपछि ऊ अत्तालिन्छ र मानिसलाई नै आक्रमण गर्छ,’ संरक्षणकर्मी आचार्यले भने ।
सन् २०१८ मा बर्दिया निकुञ्जमा गणना गर्दा ८७ वटा वयस्क बाघ थिए । पछिल्लो पटक यसको संख्या १ सय २५ नाघेको अनुमान निकुञ्जको छ । त्यस समय डमरु ९बाघका बच्चा० को गणना गरिएको थिएन । निकुञ्जले गरेको अध्ययनमा पछिल्लो पटक झन्डै एक दर्जन नयाँ बाघ फेला परेको देखिएको छ । डमरु हुर्केर वयस्क बनेका कारण बाघको संख्या बढेको हो । निकुञ्जको कर्णाली तटीय क्षेत्र बाघको प्रमुख बासस्थान छ ।
प्रतिक्रिया दिनुहोस