aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल

  • रासस
    रासस
  • शुक्रबार, २८ फागुन २०७७
प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि  तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल

काठमाडौं । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न रु तीन अर्ब बजेट विनियोजन गरेको बताउनुभएको छ । 

गोदावरी नगरपालिकाको पाँचाँै स्थापना दिवसका अवसरमा आज मन्त्री फुयाँलले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग आफूहरुले सम्झौता गरिसकेको बताए । उत्पादनको  काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उनले आग्रह गरे ।

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले गोदावरीमा ‘एक घर, एक धारा’ को अभियान ल्याएपनि अझै पूर्णरुपमा पालना हुन नसकेको दुःखेसो गरे । 

यसैगरी अर्का सदस्य लालकुमारी पुनले ललितपुरका सुगम क्षेत्रमा मात्रै नभई दुर्गम क्षेत्रमा पनि समानताका हिसाबले विकासका गतिलाई अघि बढाउन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा गोदावरी काठमाडौं उपत्यकाका अन्य नगरपालिकाभन्दा ठूलो रहेकाले यसलाई सरकारले विनियोजन गर्ने बजेटमा केही संशोधन गरी थपेर दिन जरुरी रहेको सुझाव दिए । 

सो कार्यक्रममा गोदावरीभित्र सबभन्दा बढी कर तिर्ने ‘युनाइटेड सिमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमापन गर्न सफल नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोललगायतलाईसम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस