
काठमाडौं । ११ वैशाखदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ ।
नेपाल–चीनबीचको पारवहन सम्झौताको प्रोटोकल तयार भइसकेको छ । प्रोटोकलमा दुवै मुलुक सहमत भएका छन् । नेपाल सरकारले प्रोटोकल स्वीकृत गरेर हस्ताक्षरका लागि वाणिज्य सचिवलाई अख्तियारी दिइसकेको छ । राष्ट्रपतिको आसन्न चीन भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए ।
‘प्रोटोकलमा हस्ताक्षरका लागि उच्चस्तरीय भ्रमण नै कुरिएको हो,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा हस्ताक्षर हुन सक्छ, तर यसबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।’ पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल एयरलाइन्सलाई बेइजिङ र ग्वान्जाउमा उडानको रुट तथा स्लट दिने विषयमा छलफल हुने भएको छ । नेपाल एयरलाइन्सले लामो समयदेखि चीनका विमानस्थलमा उडानका लागि स्लट र रुटको अनुमति प्राप्त गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म पाएको छैन । ‘बेइजिङ र ग्वान्जाउ विमानस्थलमा नेपाल एयरलाइन्सलाई स्लट प्रदान गर्ने विषयमा चीनसँग छलफल हुनेछ,’ पर्यटन मन्त्रालय स्रोतले भने, ‘उच्चस्तरीय भ्रमणमै एजेन्डा राख्दा त्यसमा सकारात्मक प्रगति हुने अपेक्षा गरेका छौँ ।’
चीन, जापान, हङकङलगायतका गन्तव्यमा उडान गर्ने लक्ष्यसहित नेपाल एयरलाइन्सले दुईवटा वाइडबडी जहाज किनेको थियो । उसले हालै जापान उडानको अनुमति पाए पनि उडान सुरु भने भइसकेको छैन । चीनबाट नेपालतर्फ चिनियाँ वायुसेवा कम्पनीले मात्रै उडान गरिरहेका छन् । चीनका चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, क्याथे प्यासिफिक, ड्रागन एयरलगायतले हाल नेपालमा उडान गरिरहेका छन् । तर, नेपाल एयरलाइन्सको उडान नहुँदा चीनबाट नेपालका लागि भाडा महँगो रहेको गुनासो छ । त्यसैले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चीनमा नेपाल एयरलाइन्सको उडान हुनु आवश्यक छ । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस