aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

दोस्रो खेप दिन सेरमको आनाकानी, समयमा उपलब्ध नभए खोप अभियानलाई निरन्तरता दिन कठिन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, २८ फागुन २०७७
दोस्रो खेप दिन सेरमको आनाकानी, समयमा उपलब्ध नभए खोप अभियानलाई निरन्तरता दिन कठिन

काठमाडौं । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।

सेरमले मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ। सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ। ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्कता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न अथवा ढुवानी पछि सार्न चाहेको’ पत्रमा उल्लेख छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउन अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए।

‘सेरमले दिने भनेको थप १० लाख डोज खोप आएन भने खोप अभियानलाई निरन्तरता दिन कठिन हुन्छ र दोस्रो डोज उपलब्ध गराउन पनि ढिला हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने। सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ। पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ सातामा दोस्रो डोज उपलबध गराउने सरकारी तयारी छ। सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन।

प्रतिक्रिया दिनुहोस