aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

'प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ फागुन २०७७
'प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा छ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट अझै प्रतिगमनको खतरा रहेको नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले वताएका छन् । नेता खड्काले संसद विघटनजस्तो प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीले अहिलेपनि आफ्नो निरन्तरताको लागि प्रयास गरिरहेकाले यो सफल हुन दिन नहुने बताए । उनले नेपाली कांग्रेसका नेता, खड्काले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्प खोजिने भन्दै छिट्टै कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच सरकार गठनबारे समझदारी हुने विश्वास दिलाएका छन् । 

 तर, अब एमालेबाहेकका दलहरुको सरकार बनाउनुपर्ने उनले सुनाए । र, अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पनि उनले स्पष्ट पारे । जनता समाजवादी पार्टी, नेपालका माग र मुद्दा सम्बोधन गर्नको लागि कांग्रेसले यसअघि पनि प्रयास गरेको भन्दै यसअघि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पनि खड्काले चर्चा गरे । 

संसद् पूनःस्थापना भएपछि र सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपछि जसपा नेपाल, सत्ता समिकरणको लागि ‘किङ मेकर’ को भूमिकामा रहेको उल्लेख गर्दै खड्काले प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री दिने भनेर ललिपप देखाएको पनि टिप्पणी गरे । 

उनले अहिले पार्टीभित्र पनि सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर आवाज उठेको र नेताहरुबीच सहमति भएको सुनाए । उनले कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्नेतर्फ सहमतिउन्मुख रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा देखिएकोपनि उनले चित्रण गरे । उनले भने,‘नेपाली आकाशमा खतराको बादल मडारिरहेको छ । यस खतरालाई सबै मिलेर परास्त गर्नुपर्छ ।’

नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पारे । उनले भने,‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’ को संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए । 

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आईपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए । आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे । तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए । उनले अब माओवादी केन्द्रमा कुनैपनि हालतमा फर्कने सम्भावना नरहेको दोहोर्याए । 

तपाईँले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, तपाईँ त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रष्ट पारिदिनुहोस न भनेर पत्रकारले सोधेको प्रश्नमा उनले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको पनि स्पष्ट पारे । बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरुको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकोले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए । 

उनले भने,‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबल, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो । हो, मैले भनेको कुरा के हो भने–हो, यी कुरा उठेका छन् । यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ । मैले यत्ति भनेको हो । मैले आँफै उब्जाएर भनेको होईन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो ।’

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनैपनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनेपनि उनले घोषणा गरे । 

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन् । प्रधानमन्त्रीले संसद् पूनःस्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको उनको टिप्पणी छ । 

नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरुलाई फिर्ता हुन लिखित निर्देशन दिईएको सुनाए । र, अर्को पार्टीमा लागेको भन्ने सूचना भएकोले त्यसबारेमा स्थिति के हो भनेर स्पष्ट पार्नको लागि २४ घण्टाको पनि समय दिईएको उनले जनाए । उनले अब नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउनुपर्ने पनि धारणा राखे । उनले भने,‘हामीले सम्भव हुन्छ भने कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउनुपर्छ भनेका छौं ।’

तर, प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रयास गरेको सुनाउँदै उनले कतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने भए भने नेपालमा अदृश्य घट्ना पनि घट्नसक्ने पौडेलको टिप्पणी छ । उनले आफूहरुले सरकारको नेतृत्वको दाबी नगरेको पनि स्पष्ट पारे । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जो भएपनि आफूहरुलाई कुनै आपत्ति नहुने सुनाए । 

उनले प्रधानमन्त्री ओलीले जसपाको माग र मुद्दा कुनैपनि हालतमा सम्बोधन नगर्ने पनि ठोकुवा गरे । ‘जसपाको माग हामीले पूरा गर्छौं’,उनले भने,‘ओलीले त कुनैपनि हालतमा गर्दैनन् ।’ प्रधानमन्त्री पद टिकाउनको लागि ओलीले जस्तोसुकै सम्झौता गर्नसक्ने उनले बताए । तर, सम्झौता भएको भोलिपल्टबाट त्यसलाई लत्याउने पनि उनले ठोकुवा गरे । विप्लव र सिके राउतलाई वार्ता गरेर सहमति गरेकोमा भने उनले ओलीको कदमको प्रशंसा गरे । तर, विप्लवका माग सरकारले पूरा नगरेको उनको भनाई छ । 

फरक प्रसँगमा उनले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि हतियार उठाउने कुरा नगरेको जिकिर गरे । उनले भने,‘उहाँले हतियार उठाउने कुरा गर्नुभएको छैन् । बरु, काठमाडौं बस्न अलिक कम गरेर जनताको माँझ बस्नुपर्छ भन्नुभएको हो ।’

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताएका छन् । आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उनले सुनाए । 

नेता कर्णले आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन् । तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाईको लागि संविधान र कानूनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’ उनले आफूहरुले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाए । उनले भने,‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरुको एउटै पार्टीमा पनि एकरुपता छैन् । अहिले हामीले घट्नाक्रमलाई बडो नजिकबाट हेरिराखेका छौं । दुई÷चार दिनभित्र बैठक बसेर यस सम्बन्धमा निर्णय लिन्छौं ।’

उनले केपी ओलीलाई आफूहरुले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गरे । उनले भने,‘उहाँसँग हामीलाई कुनै नफरत छैन्, भेदभाव छैन् । अछुतो पनि छैन् । माग पूरा गर्नुभयो भने सहकार्य हुन्छ ।’ उनले प्रधानमन्त्री ओलीले आफूहरुलाई सरकारमा सहभागी हुन वा समर्थन गर्न आग्रह गरेको पनि जानकारी दिए । 

उनले आफूहरु संसदको पूरा कार्यकाल नै संसद चल्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी संसद चल्नै सक्ने अवस्था भएन भने निर्वाचनबाट भागेर पनि नजाने उनको प्रतिक्रिया थियो । उनले भने,‘हामी त यो प्रतिनिधिसभाको पूरा कार्यकालको पक्षमा छौं । यदि संसद् चल्ने अवस्था भएन भने चुनाव त अन्तिम विकल्प हो ।’

प्रतिक्रिया दिनुहोस