
बेनी । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले आगामी हप्तादेखि परीक्षण उत्पादन सुरु गर्ने भएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर परीक्षण उत्पादनको तयारी गरेको हो। आयोजनाको परामर्शदाता इन्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सकेको बताए। ‘दाना सबस्टेसनदेखि स्विचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको परीक्षण भइरहेको छ,’ उनले भने, ‘ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्वाइन घुमाउने तयारीमा छौं।’ विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ।
इन्जिनियर खड्काले अबको एक हप्तादेखि १० दिनभित्र मिस्ट्रीखोलाले परीक्षण उत्पादन सुरु गर्ने बताए। सन् २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ। दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याइएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ। बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरिएको छ। बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइका बालुवा थिग्राउने २ वटा भूमिगत पोखरी ९क्यानल० बनाइएको छ।
बेसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेसनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ। ११ वटामध्ये गत बर्खामा आएको बाढीले एउटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो। जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुननिर्माण गरिएको हो।
प्रतिक्रिया दिनुहोस