
काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखदेखि परीक्षण उत्पादन गर्ने तयारी थालेको छ । ४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान सुरु भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
एक्सपान्सन पाइप जडान सकिएलगत्तै सुरुङमा पानी भरेर परीक्षण गर्ने र लगत्तै प्रत्येक युनिटबाट परीक्षण उत्पादन गर्ने आयोजनाको तयारी छ । पिकिङ रन अफ रिभर प्रकृतिको आयोजनामा ६ वटा युनिट छन् । प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मुख्य सुरुङबाट टर्बाइनमा आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको डिजाइन संशोधन गरिएको थियो । संशोधित डिजाइनअनुसारको एक्सपान्सर ज्वाइन्ट आयोजनास्थलमा आइपुगेर जडानको काम भइरहेको न्यौपानेले जानकारी दिए ।
आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । तर कम्पनीले समयमै एक्सपान्सन ज्वाइन्ट उत्पादन गर्न नसक्दा आयोजना निर्माण सम्पन्न हुने मिति पर धकेलिएको भन्दै आयोजना व्यवस्थापनले डिजाइन संशोधन गरी काम अघि बढाएको हो । डिजाइन संशोधन नगर्दा आयोजना निर्माण मिति कम्तीमा ६ महिनापछि धकेलिने भएपछि परामर्शदाता कम्पनीको सल्लाहमा आयोजना व्यवस्थापनले एक्सपान्सन ज्वाइन्टको डिजाइन संशोधन गरेको हो । डिजाइन संशोधनपछि आयोजनाको एउटा युनिटबाट चैत मसान्तसम्म परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य थियो ।
प्रतिक्रिया दिनुहोस