aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
राजस्व

राजस्व लक्ष्यको नजिक, फागुनमै उठ्यो ३१ प्रतिशत बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
राजस्व लक्ष्यको नजिक, फागुनमै उठ्यो ३१ प्रतिशत बढी


काठमाडौं । आन्तरिक आर्थिक गतिविधि विस्तार हुँदै जाँदा राजस्व संकलन दरमा व्यापक सुधार भएको छ । पछिल्लो महिनामा राजस्व संकलनको लागि लिइएको लक्ष्य र संकलित राजस्वबीचको ग्याप साँघुरिदै गएको हो । कोभिड–१९ महामारीका कारण अस्तव्यस्त बनेको अर्थतन्त्र सुधारतर्फ अघि बढेसँगै राजस्व प्रशासन पनि सहज अवस्थामा पुगेको हो । 

लक्ष्यको तुलनामा न्यून राजस्व उठाउँदै आएको सरकारले फागुन महिनामा भने ३१ प्रतिशतले बढी राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागलाई अर्थ मन्त्रालयले फागनु महिनामा २२ अर्ब २९ करोड राजस्व संलनक गर्न लक्ष्य तोकिदिएको थियो ।

विभागले फागनु महिनामा २९ अर्ब २४ करोड अर्थात लक्ष्यभन्दा ३१ प्रतिशतले राजस्व बढी संकलन गरेको विभागका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए । ‘पछिल्लो महिनामा राजस्व लक्ष्य र संकलनबीचको ग्याप साँघुरिदै गएको छ,’ उनले भने ‘अब राजस्वको लक्ष्य पुग्ने देखियो ।’

विभागले माघ महिनामा पनि लक्ष्यभन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । माघ महिनामा आन्तरिक राजस्व विभागलाई २८ अर्ब ६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर, महिनाको अन्त्यसम्म आइपुग्दा कुल ३२ अर्ब ४३ करोड बराबर राजस्व संकलन गरेको जनाएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा १५.५७ प्रतिशत बढी हो ।
आयकर र भ्याटमा उत्साहजनक वृद्धि, अन्तःशुल्कले भने अझै लक्ष्य भेटेन

मन्त्रालयले आन्तरिक राजस्व विभागलाई फागनु महिनामा आयकरबाट ७ अर्ब २ करोड, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट) ७ अर्ब २९ करोड, आन्तरिक अन्तशुल्क ७ अर्ब ३करोड र ब्याज कर ३२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । विभागले आयकतर्फ लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन गरेर १२ अर्ब १८ करोड पुर्याएको छ ।

त्यस्तै भ्याटबाट फागुन महिनामा ९ अर्ब २० करोड अर्थत लक्ष्यभन्दा २६ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । अन्तःशुल्कमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सो शीर्षकमा लक्ष्यभन्दा ६ प्रतिशतले कम अर्थात ६ अर्ब ६१ करोड रुपैयाँमात्रै राजस्व संकलन भएको छ । ब्याजकरतर्फ ९६ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । फागुन महिनामा ६४ करोड ४९ लाख राजस्व संकलन भएको सूचना अधिकारी ढकालले जानकारी दिए । 

फागुनसम्म कति उठ्यो राजस्व ? 

कोभिड संक्रमणको दर केही कम भएसँगै पछिल्लो महिनाहरूमा राजस्व संकलन केही उत्साह जनक हुँदै गएको छ । चालु आर्थिक वर्षको साउन–फागुनसम्म आइपुग्दा राज्यले आन्तरिक राजस्व विभागलाई दिएको लक्ष्यमा विभागले २ खर्ब ५३ अर्ब २५ करोड राजस्व संकलन गरेको छ । सो संकलित राजस्व लक्ष्यको तुलनामा १ प्रतिशतले मात्रै कम हो । विभागलाई फागुन मसान्तसम्म २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिइएको थियो ।   

विभागले गत आवको फागुन महिनासम्म जम्मा २ खर्ब ८७ अर्ब ४२ करोड राजस्व संकलन गरेको छ । तर, संकलित राजस्व लक्ष्यको तुलनामा करिब १० अर्ब रुपैयाँले बढी हो । विभागले गत वर्षको फागुनमा २ खर्ब ९७ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म करका शीर्षकहरूमध्ये भ्याट मात्रै लक्ष्य नाघेको छ । अन्य शीर्षकमा फागुन महिनासम्म पनि राजस्वको लक्ष्य पुग्न सकेको छैन । यद्यपि यसमा सुधार भने हुँदै आएको छ । माघसम्म लक्ष्यको ९५ प्रतिशतमात्रै राजस्व संकलन भएकोका अहिले ९९ प्रतिशत पुगेको छ ।

भ्याट र आयकरको लक्ष्य नाघ्यो 

अवधिमा भ्याटमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । विभागले भ्याट लक्ष्यभन्दा ११.६५ प्रतिशतले बढी संकलन गरेको छ । फागुनसम्म ६६ अर्ब ५६ करोड भ्याट उठाउनु पर्नेमा ७४ अर्ब ३२ करोड उठेको छ । यो अवधिसम्म  १ खर्ब ९ अर्ब १० करोड आयकर उठनु पर्नेमा जम्मा १ खर्ब ७ अर्ब अर्थात लक्ष्यको ९८.०७ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । 

जम्मा ५८ अर्ब उठाउनु पर्नेमा ५० अर्ब २० करोड अर्थात ८६.५६ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।  ब्याज करतर्फ भने फागुन महिनासम्म १६ अर्ब ५४ करोड उठाउने लक्ष्य लिइएकोमा १६ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । 

ठूला करदाताले फागुनसम्म १६ अर्ब कम राजस्व उठायो

ठूला करदाता कार्यालयले फागुन महिनासम्म १ खर्ब ११ अर्ब ४१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जम्मा ९४ अर्ब ६३ करोडमात्रे राजस्व संकलन भएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा १६ अर्ब रुपैयाँले कम हो । 

फागुन महिनामामात्रै ठुला कदरदाताले ६ अर्ब ६६ करोड राजस्व उठाउनु पर्नेमा २ अर्ब ८ करोडले बढी राजस्व उठाएर ८ अर्ब ७४ करोड पुगेको छ । माघ महिनखामा ठूला करदाता कार्यालयले ११ अर्ब ६४ करोड राजस्व संकलन गर्नुपर्नेमा १० अर्ब ५९ करोड राजस्व संकलन गरेको विभागको तथ्यांक छ । 


 

प्रतिक्रिया दिनुहोस