aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

साढे ११ हजार ऋणी कालोसूचीमा

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, ०३ चैत्र २०७७
साढे ११ हजार ऋणी कालोसूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ । 

प्रत्येक आवको फागुनसम्मलाई आधार मान्दा पछिल्लो ५ वर्षमा ११ हजार ४५० ऋणी कालोसूचीमा परेका छन् । २०४६ सालदेखि चालू आवको फागुन २८ गतेसम्ममा भने कालोसूचीमा पर्ने ऋणीको संख्या १५ हजार २९५ पुगेको छ । ऋणीहरू बैंकमा आफ्नो दायित्वमा रहेको साँवा, ब्याज चुक्ता गरेर कालोसूचीबाट हटेका पनि छन् । तर, लामो समयदेखि ऋण चुक्ता नगरेका ऋणीहरू कालोसूचीमै रहने गर्छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा कर्जा सूचना केन्द्रले कालोसूचीमा परेका ऋणीहरूको संख्या सार्वजनिक गर्ने गर्छ । केन्द्रले यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको यस्तो सूची सार्वजनिक गर्दै आएकोमा चालू आवदेखि भने लघुवित्तको पनि सार्वजनिक गर्न थालेको छ ।

आव २०७३/७४ फागुनसम्ममा कालोसूचीमा परेर चुक्ता नगरेका ५५९ ऋणी अझै सूचीबाट हटेका छैनन् । यस्तै, आव २०७४/७५ मा यस्तो संख्या ८४६ र २०७५/७६ मा १ हजार ५२८ रहेको छ । यसैगरी २०७६/७७ मा ३ हजार ७५० र २०७७/७८ फागुनसम्ममा यस्ता ऋणीको संख्या ४ हजार ७६७ छ ।

प्रतिक्रिया दिनुहोस